बरेङको छहरे झरनामा पर्यटक आकर्षण

डम्मर बुढामगर, बागलुङ
बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षको केन्द्र बनेको छ । आठ वर्ष अगाडिसम्म ओझेलमा रहेको उक्त झरनामा पछिल्लो समय सयौँ पर्यटक घुम्न आउने गरेका छन् । गाउँपालिकाले पूर्वधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो ।

झाडीले ढाकिएको झरनालाई गाउँपालिकाले वि.सं. २०७५ सालदेखि व्यवस्थित बनाउँदै आएको छ । घना जंगलबाट पहरामा ठोकिदै झर्ने झरना निकै मनमोहक छ । पर्यटकलाई आकर्षित गर्नका लागि पालिको झरना वरपर मन्दिर, भजनकृतन स्थल, रेलिङसहितको पदमार्ग, विश्राम स्थल निर्माण गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेको हुँदा पछिल्लो समय टाढा–टाढाबाट पर्यटक वनभोज खानका लागि आउने गरेको उहाँको भनाइ छ । गाउँपालिकाले हालसम्म पूर्वधार निर्माणमा रु ६० लाख बढी लगानी गरि सकेको अध्यक्ष शर्माले बताउनुभयो । छहरे झरनाभन्दा केहीमाथि योभन्दा दशौँ गुणा ठूलो भैसे झरना रहेको भन्दै त्यसलाई पनि प्रवद्र्धन गर्न थालेको उहाँको भनाइ छ ।

“यो झरना बागलुङको दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो र आकर्षिक झरना हो, यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ, हामीहरु निर्वाचित भएर आएदेखि नै पूर्वधार निर्माणमा जोड दिएका छौँ, सात वर्षदेखि यो झरनामा निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ” अध्यक्ष शर्माले भन्नुभयो – “यस वर्ष झरनाबाट झरेको पानीलाई थुनेर ताल बनाउँदै छौँ, यो भन्दामाथि रहेको भैसे झरनालाई पनि व्यवस्थित बनाउँदै छौँ, पदमार्गले जोड्दै छौँ ।”

पहिले जंगल भित्र ओझेलमा रहेको झरना अहिले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको बरेङ गाउँपालिका–४ का स्थानीय यमबहादुर क्षेत्रीले बताउनुभयो । झरनाको छेउमा मन्दिर निर्माण गरेको हुँदा पूजा गर्नका लागि दर्शनार्थीहरु आउने र उनीहरु झरनामा पुगेर स्नान गर्ने गरेको उहाँको भनाइ छ । पहिले गुमनान रहेको झरना यसरी व्यवस्थित होला भनेर कल्पना पनि नगरेको क्षेत्री बताउनुहुन्छ ।

क्षेत्रीले भन्नुभयो – “यो ठाउँमा यति राम्रो झरना छ भन्ने लागेको थिएन, पहिलो सबै झाडीले ढोकेको थियो, हामीहरुले स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँमा ल्याएर उहाँहरुलाई झरना देखाइयो, त्यसपछि पालिकाले लगानी ग¥यो र अहिले धेरैको लागि रोजाइको केन्द्र भयो, यहाँ बिदाको दिन सयौँ पर्यटक यहाँ आउँछन्, अघिपछि पनि भिड हुन्छ, महिनामा पाँच हजार बढी पर्यटकले झरना अवलोकन गर्छन् ।”

यो पनि पढ्नुहोस्