खेमराज गौतम, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले मगरभाषा संरक्षणका लागि अभियान थालेको छ । आदिवासी जनजातीहरुमध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान थालिएको काठेखोला गाउँपालिकाले जनाको छ ।
गाउँपालिकाले पहिलो चरणमा काठेखोला गाउँपालिका–१ का मगर समुदायलाई एक महिने मगर भाषा (ढुट) तालिम दिइएको छ ।
परापूर्वकालमा मगर खाम भाषा र मगर ढुट भाषा बोल्दै आएका गाउँवासीहरुलाई मगर ढुट भाषा सम्बन्धी एक महिना लामो प्रशिक्षण दिइएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
थापाले काठेखोला गाउँपालिका–१ बाट थालेको मगर भाषा प्रशिक्षण तामिललाई गाउँपालिकाभर अभियानका रुपमा चलाउने बताउनुभयो । उहाँले आफ्नो भाषा संस्कृति र संस्कारलाई जोगाउनु गाउँपालिकाको कर्तव्य रहेको बताउदै गाउँपालिका भरका मगर समुदायलाई मगर भाषा सिकाइने बताउनुभयो । पछिल्लो समय चलन चल्तीको भाषाका रुपमा मगर ढुटलाई लिनेगरी अभियान थालिएको छ ।
पहिलो पटक गाउँपालिकाले करिना, धिमि र दोबिल्लाका ७५ जनालाई एक महिने मगर भाषा प्रशिक्षण सम्पन्न गरिएको थापाको भनाई छ ।
“पछिल्ला पुस्ताले मगर भाषा बोल्नै जान्दैनन्, भाषाको पुस्तान्तरण गर्न आवश्यक देखियो, त्यसैले भाषामा दख्खल राख्ने प्रशिक्षकले एक महिना लामो मगर भाष प्रशिक्षण दिनुभएको छ, दोस्रो चरणमा अर्को वडामा समेत प्रक्षिण गर्नेछौं” थापाले भन्नुभयो “प्रशिक्षणमा सहभागी स्थानीयले कम्तिमा मगर भाषमा सामान्य कुराकानी गर्न सिक्नुभएको छ, सिकेको भाषालाई परिवारका सदस्यलाई सिकाउन आग्रह गरिएको छ ।”एक महिना लामो तालिमले मगर भाषाको विषयमा सामान्य जानकारी र कुराकानी गर्न सिकेको तालिममा सहभागी स्थानीय पूर्ण बहादुर थापा मगरले बताउनुभयो । तालिममा ७५ जना महिला, पुरुष तथा युवा पुस्ताहरु सहभागी रहेका थिए । सामान्य घरायसी कामकाजका लागि मगर भाषामा कुराकानी गर्न सक्ने भइएको भएपनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग रहेको छ ।
गलकोट राज्यको पालामा तामाखानी खन्ने क्रममा यस वडाका मगर समुदायलाई खाम भाषा बोल्न रोक लगाएपछि भाषा विस्तारै लोप भएर जान किम्बदन्ती रहेको काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खडक थापाले बताउनुभयो ।
यहाँका मगरहरुले गलकोट राज्य अन्र्तगत पर्ने विभिन्न खानीमा काम गर्ने र खाम भाषा बोल्ने गरेपनि अरुले खामभाषा नबुझ्दा समस्या भएको भन्दै खानी खन्ने क्रममा खाम भाषा बोल्न नपाइने नियम लगाएपछि मगर भाषा विस्तारै लोप भएर जान थालेपछि मगर भाषा तालिम दिइएकोे वडा अध्यक्ष खडक थापाले बताउनुभयो ।
दुई पुस्तालाई एकै ठाउँमा राखिएर प्रशिक्षण दिइएको थापाले बताउनुभयो । ७५ जानलाई तालिम दिइएको प्रशिक्षक तनहुँको घिरिङ निवासी दिलिप थापा मगरले बताउनुभयो । उहाँले आफूले सिकेका कुरा स्थानीयले घरमा मात्रै लागु गरेमा भाषा संरक्षणमा समस्या नहुँने उहाँको भनाई छ ।
एक महिना ५ दिन सम्म सञ्चालनमा आएको तालिममा धिमिका १८ जना, दोबिल्लाका १८ जना र करिनाका ३९ जना मगर समुदायलाई तालिम दिइएको थियो ।
तालिमको प्रशिक्षण खर्च रु. एक लाख गाउँपालिकाले उपलब्ध गराएको र अन्य खर्च स्थानीयले गरेका थिए । तालिम पश्चात मगर भाषामा सामान्य कुराकानी गर्न थालिसकेको वडा अध्यक्ष थापाले बताउनुभयो । नेपाली मगर माषामा (ढुट, खाम, काईके र पोईके) प्रचलित भाषा हुन् ।