डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका–२ उपल्लोबेङ्ग्री गाउँ पहिलो पटक सडक सञ्जालले जोडिएको छ । भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लोबेङ्ग्री सडकले जोडिएको हो । वि.सं. २०७५ सालमा उक्त गाउँलाई सडकले जोड्नका लागि ट्रयाक खोल्न सुरु गरिएको थियो । वैशाख २१ गते गाउँमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।
यातायात र सामान ढुवानी गर्दा सास्ती खेप्दै आएका थिए । निसीखोला गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरि ट्रयाक खोल्ने काम गर्दै आएको थियो । तर भिर पहराका कारण अहिलेसम्म गाउँमा सडक पुग्न सकेको थिएन । रु ९१ लाख खर्च गरेर यस वर्ष बल्ल सडक उपल्लोबेङ्ग्री पु¥याउन सफल भएको वडा नम्बर २ का अध्यक्ष कुविर विकले बताउनुभयो ।
अग्लो पहाडनैको सिरमा रहेको बस्तीमा सडक पु¥याउनका लागि धेरै प्रयास गरे पनि यस वर्षमात्रै सफल भएको उहाँको भनाइ छ । गाउँपालिकाको केन्द्र जुग्जाखोलादेखि सिधा सडकले जोड्न खोजे पनि ठूलो पहराको कारण अर्नाकोट तिरबाट उपल्लोबेङ्ग्रीमा सडक पु¥याएको अध्यक्ष विकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “उपल्लोबेङ्ग्रीमा सडक पु¥याउनका लागि धेरै मेहनत गरियो, यस वर्ष मात्रै सफल भयौँ, तल्लोबेङ्ग्री, चौरबेङ्ग्री हुँदै उक्त गाउँमा सडक जोड्ने प्रयास गरेका थियौँ, तल बस्ती माथि पहरा हुँदा त्यता पट्टबाट सकिएन, अहिले अर्नाकोटबाट जोड्न सफल भयौँ, सडकले अब यहाँका सयौँ नागरिकको दैनिक फेरिने अपेक्षा लिएका छौँ ।”
उपल्लोबेङ्ग्रीमा ६५ परिवारका २०० बढी नागरिक बसोबास गर्दै आएका छन् । उनीहरुलाई सहर बजार पुग्नका लागि पहिले निकै समस्या थियो । सडकले गाउँ जोडिएपछि गाउँमा थुप्रै संभावनाका ढोकाहरु खुलेको स्थानीय खुमबहादुर खत्रीले बताउनुभयो । अप्ठ्यारो भूगोलका कारण सडक नपुग्दा आफूहरुले ठूलो समस्या खेप्नु परेको उहाँको भनाइ छ । अब यात्रा गर्न र गाउँमा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्न सहज हुने खत्री बताउनुहुन्छ ।
“धेरै गाउँमा पहिलेनै सडक पुग्यो, हाम्रो गाउँमा बल्ल आयो, सडकलाई अझ व्यवस्थित बनाउनु पर्छ, ढिलै भए पनि गाउँमा सडक आउँदै धेरै खुसी लागेको छ,” खत्रीले भन्नुभयो – “अहिलेसम्म बजारबाट सामान मान्छेलेनै बोकेर ल्याउने गथ्यौँ, अब गाडीले बोकेर ल्याउने छ, कोही बिरामी परेमा पहिलेको जस्तो ढोकोमा पुगेर लैजानु पर्ने छैन, एम्बुलेन्सले बोक्ने छ ।”