आदर्श सञ्चार, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प कुनै राजतन्त्र नभएको जिकिर गर्नुभएको छ ।
उहाँले राजनैतिक दलहरु सच्चिएर जनताकोमा पुग्नुपर्ने बताउदै गणतन्त्र नेपालमा निर्विकल्प भएको बताउनुभएको हो ।
राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको विरोधसभामालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक दल एकताबद्ध हुँन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भएपनि राष्ट्रियतानै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
“सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रको विषयमा राजावादीहरुले भ्रम सृजना गरे, एक पटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनैतिक दल एकजुट बनौं” केसीले भन्नुभयो “राजावादीको तीन कुने आन्दोलन अराजकताको पराकाष्ट हो, न्यायिक छानविन हुनुपर्छ, राजावादीहरु सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौं ।”
उहाँले संघीयता खर्चिलो भएको भन्दै नेपालको अर्थतन्त्रले नथेग्ने बताउनुभएको छ । उहाँले लोकतन्त्र र गणतन्त्र आएकै कारण बोल्न पाइएको स्मरण गर्दै राजतन्त्र फर्काउने कुरा संभव नभएको बताउनुभयो । उहाँले लोकतन्त्र र गणतन्त्र रहेमा मात्रै जनताले आवाज उठाउन सक्ने बताउनुभयो । उहाँले अहिलेका दलहरु चुनावबाट डराउन थालेर अहिलै मिसन ८४ को नारा लगाउदै हिडेको बताउनुभयो ।
“नेता मात्रै हैन जनता समेत सचेत हुन आवश्यक छ, भष्ट्रचार मौलाएका कारण विकास भएन, जनताले सही जनप्रतिनिधि चुन्न सकेनन्” उहाँले भन्नुभयो “यो खर्चिलो संघीयता नेपालले धान्दैन, विदेशीको इसारामा देश चलाउने काम बन्द गर्नुपर्दछ ।”
उहाँले गणतन्त्र फाले राजा ल्याउछु भन्ने अभियानहरु प्रतिगमनका मतियार भएको उल्लेख गर्नुभयो । राष्ट्रिय जनमोर्चाले चालेको ‘प्रतिगामी खतराको विरुद्ध संघर्ष गरौं, गणतन्त्रको रक्षा गरौं’ भन्ने नाराका साथ बागलुङका पालिका स्तरीय विरोधसभा शनिरबा बागलुङ बजारबाट समापन गरिएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले जानकारी दिनुभयो ।