डम्मर बुढामगर, बागलुङ
दरमखोला हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको हाइड्रोपावर असारमा संचालनमा आउने गरि धमाधम काम भइरहेको छ । वि.सं. २०६५ सालमा हाइड्रोपार निर्माण गर्ने भनिए पनि वि.सं. २०७७ सालदेखि मात्रै काम सुरु भएको थियो । अहिलेसम्म पाइलाइन, विद्युत गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको छ ।
सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रा.लिले काम गरि रहेको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरि साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निमार्ण गरिएको छ । यो हाइड्रोपावर बागलुङ जिल्लाकै सबैभन्दा ठूलो हो । उक्त हाइड्रोपावरबाट ९.६ मेघावाट विद्युत उत्पादन हुने दरमखोला हाइड्रो इनर्जी प्रा.लिका इन्जिनियर निरज दासले जानकारी दिनुभयो ।
अब विद्युत गृह भित्रको केही काम बाँकी रहेको भन्दै असार महिना भित्रै विद्युत उत्पादन गर्ने गरि काम भएको दासले जानकारी दिनुभयो । यस हाइड्रोपारवलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने उहाँको भनाइ छ । लाइन तान्ने र पोल गाड्ने काम विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गरि रहेको दास बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “हाइड्रोपावरको धेरै काम सकियो, अब केही ‘इन्टरर्नल’ काम मात्रै बाँकी छन्, ति काम पनि छिट्टै सकिने गरि भइरहेका छन्, हामीहरुले पाइपलाइनमार्फत दरमखोलाको पानी लिएर विद्युत उत्पादन गर्न थालेका हौँ, काँडेबासमा ड्याम निर्माण गरेर मनेवामा पावर हाउस निर्माण भएको छ, अबको दुई महिनामा विद्युत उत्पादन हुनेछ ।”
हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन ‘निरज’ले हाइड्रोपावर रु दुई अर्ब १५ करोड लगानीमा निर्माण भइरहेको बताउनुभयो । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरि इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उहाँको भनाइ छ । जिल्लाका विकट क्षेत्रमा विद्युत पु¥याउने उद्देश्यले हाइड्रोपावर निर्माण गरेको अध्यक्ष पुन बताउनुहुन्छ ।
“यो हाइड्रोपावर निर्माण गर्न धेरै समय लाग्यो, १७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्ध गरेर हामीहरुले नयाँ कम्पनी बनाएर काम ग¥यौँ, प्रक्रिया धेरै पहिले सुरु भए पनि काम थालेको पाँच वर्ष भयो” अध्यक्ष पुनले भन्नुभयो – “यहाँबाट विद्युत उत्पादन भएपछि हरिचौर सवस्टेशनमा जोड्ने तयारीमा छौँ, एक डेढ महिनामा यो विद्युत बल्छौँ, यो बागलुङकै ठूलो हाइड्रोपावर हो ।”