स्वास्थ्यमा फड्काे मार्दै गलकोट : बने एकै पटक दुई स्वास्थ्य चौकी

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट नगरपालिकामा एकै पटक दुई वटा स्वास्थ्य चौकीका भवन निर्माण गरिएको छ । वडा नम्बर १ को दुदिलाभाटी स्वास्थ्य चौकी र वडा नम्बर ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएको हो । वर्षौँ पुराना भवनबाट संचालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरि नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।

दुई वटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी वि.सं. २०८० मंसिर २९ गते सम्झौता गरि काम सुरु भएको थियो । निर्माणको जिम्मा विष्णु निर्माण सेवाले पाएको थियो । रु एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा भवन निर्माण भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । उक्त भवन गत माघ महिनामा सम्पन्न भएको थियो ।

मल्म स्वास्थ्य चौकी वि.सं. २०८० असार २६ सम्झाता भई काम सुरु भएको थियो । जयकालिका भगवती/के.सी. निर्माण सेवा जेभीले रु दुई करोड ३१ लाख ३६ हजार २०३ लागतमा निर्माण गर्ने गरि जिम्मा पाएको थियो । उक्त भवन गत पौष २४ गते सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएपछि दुई वटै स्वास्थ्य चौकी नयाँ भवनमा सर्ने तयारीमा रहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – “गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, अब पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन लागेका छौँ, आम नागरिकले विश्वास गर्ने गरि स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ, पहिलेको जस्तो अवस्था अहिले छैन, गाउँमा कोही बिरामी भए गाउँमै उपचार पाउँछन् ।”

दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नु पर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उहाँको भनाइ छ ।

“गतिलो भवन नहुँदा हामीहरुले निकै समस्या खेप्नु परेको थियो, एउटै कोठाबाट बिरामी जाच्नु पर्ने, खोप लगाउनु पर्ने, ओपिडी लगायतका सेवा प्रवाह गर्दा गाह्रो थियो” रानाले भन्नुभयो “यसपाली नयाँ भवन बनेको छ, त्यो भवनमा सरेपछि सहज हुने छ, बिरामीलाई पनि समस्या हुने छैन, अहिलेको भवन पुरानो हुँदा बर्खाभरी पानी चुहिन्छ ।”

पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पु¥याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४ वटा स्वास्थ्य संस्था रहेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका भर सात वटा स्वास्थ्य चौकी, तीन वटा सहरी स्वास्थ्य केन्द्र र तीन वटा आधारभूत स्वाथ्य सेवा केन्द्र रहेका छन् ।

नगरपालिकाले ९ स्थानमा वर्थिक सेन्टर र ५ वटा स्वास्थ्य संस्थामा ल्याव सेवा दिँदै आएको उहाँको भनाइ छ । गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरि वर्थिङ सेन्टर संचालन गरेपछि दूर दराजका नागरिकले सहज रुपमा सेवा पाउनका साथै घरमा सुत्केरी हुने महिलाको संख्या शून्यमा झरेको पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्