तमानखाेलामा तामाखानी उत्खनन्‌का लागि खोजतलास

डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खनन्‌का लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमती दिएपछि खोजतला सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा तामाखानी छन् । उक्त खानीहरु वि.सं. १९८१ सालसम्म संचालनमा थिय । सरकारले खानीलाई करको दायरामा ल्याएपछि बन्द भएका थिए ।

खानी तथा भूगर्भ विभागले अध्ययन तथा अनुसन्धानका लागि वि.सं. २०८० असोज १५ देखि २०८४ असोज १४ गतेसम्म चार वर्षका लागि अनुमती दिएपछि खोजताल सुरु भएको हो । अहिले विकप्लस मिनिलर प्रा.लिले नर्जाखानीको विभिन्न ठाउँमा खोजतलास गरि रहेको छ । सतहमा तामा सामान्य रुपमा देखिएको विकप्लस मिनिलर प्रा.लिका भूर्गवशास्त्री बलराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा तीन चरणको अनुसन्धान हुने र त्यसबाट राम्रो नतिजा आयो भने बल्ल उत्खनन गर्न सकिने छ । अबको एक वर्ष भित्रमा तीनै चरणको अध्ययन सकिने गरि काम गरि रहेको कार्कीले बताउनुभयो । अहिले नर्जाखानी क्षेत्रमा प्राबिधिकहरु खटिएर धमाधम अध्ययन गरि रहेको उहाँ बताउनुहुन्छ ।

“अनुसन्धानको धेरै चरणहरु हुन्छन्, हामीहरु अहिले पहिलो चरणको अनुसन्धानमा छौँ, जुसलाई ‘जियोफिकिज सर्वे’ भन्छौँ, यसबाट राम्रो नतिजा आयो भने दोस्रो चरणको टेस्ट ड्रिलिङ गर्छौँ र त्यसपछि फाइनल ड्रिलिङ गरि राम्रो नजिता आए, उत्खनन् गछौँ’ भूर्गशास्त्री कार्कीले भन्नुभयो – “यसको उत्खनन् गर्नका लागि २० देखि २२ अर्ब लाग्छ, यति रुकम लगानी गरेर खानी संचालन गर्न सक्छौँ कि सक्दैनौँ भनेर खोज तलास गरि रहेका हौँ ।”

तमानखोलाको नर्जाखानी, भित्रिवन र पात्लेगाउँको धेरै स्थानमा तामाखानीका सुरुङ र अवशेष प्रसस्तै छन् । एक वर्ष अगाडि बन्द भएको खानी पुनः उत्खनन्का लागि अध्ययन हुँदा स्थानीय खुसी भएका छन् । तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्र छन्त्यालले बाउ बाजेले खानेको खानी उत्खनन् गर्न सके गाउँलेको जीवनस्तर उकासिने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “यहाँका खानीहरुसँग हाम्रो पहिचान जोडिएको छ, हाम्रो समुदायका मानिसहरुको इतिहास जोडिएको छ, अहिले पनि हाम्रो गाउँमा सयौँ ठाउँमा पहिले तामा निकालेको डोबहरु छन्, ति खानीहरुबाट तामा निकाल्न पाए, यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, आर्थिक रुपमा मजबुत हुने थिए भने युवाले गाउँमै रोजगार पाउने थिए ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि तामाखानीको अध्ययन गर्न थालिएको बताउनुभयो । वि.सं. १९८१ मा बन्द भएदेखि तमानखोलाका तामाखानी त्यस यता सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ । तामानखानीको अध्ययन अहिलेसम्म सकरात्मक देखिएको अध्यक्ष बुढा मगरले बताउनुभयो । श्री ३ चन्द्र शम्शेरको पालाबाट खानी खन्न बन्द भएको बुढापाका बताउँछन् ।

यो पनि पढ्नुहोस्