आदर्श सञ्चार, बागलुङ
बागलुङकै ठूलो खेतीयोग्य जमिन मध्येको एक हो बलेवाको दम्काफाँट । २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्ट मार्फत कालीगण्डकीको पानी ल्याइएको छ । पानीको स्रोत अभावमा सिँचाइ गर्न नसक्दा खेतीयोग्य जमिन बाँझिन थालेपछि लिफ्ट मार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
अहिले दम्काफाँटमा ४० प्रतिशत जग्गा बाँझो भएपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराले रु. तीन करोड लागतमा फाँट मुनिको कालीगण्डकी नदीको पानी दम्काफाँटमा ल्याएको छ । अहिले लिफ्ट सिँचाइ आयोजनाको सफल परिक्षण समेत सम्पन्न भइसकेको छ । यो वर्ष परिक्षणकै रुपमा केही भागमा सिँचाइ गर्ने र वितरणलाईन विस्तार गरेपछि २४ हेक्टर जमिननै सिँचाइ गर्ने आयोजनाको भनाई छ ।
लिफ्टमार्फत बागलुङमा सिँचाइ गरिएको यो सबैभन्दा ठूलो योजना हो । उर्भरभूमी रहेको दम्काफाँटमा एउटै सिजनमा एक हजार ७०० मुरी धान फल्ने गरेको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थपान आयोजना, पोखराका प्रमुख बिदुरमान श्रेष्ठका अनुसार २४ हेक्टर खेतियोग्य जमिन बाँझिदै जान थालेपछि ठूलो जोखिम मोलेर लिफ्ट योजना ल्याइएको बताउनुभयो । उहाँले कालीगण्डकी नदीबाट दम्काफाँट अलि माथी भएकाले ‘डबल लिफ्ट’ गरिएको बताउनुभयो ।
पहिलो १४० र दोस्रो १४३ मिटरमा दुई वटा लिफ्ट प्रणाली मार्फत दम्काफाँटमा प्रतिसेकेण्ड ५.५ लिटर पानी ल्याउन सफल भएको श्रेष्ठले बताउनुभयो ।
“सौलियत विद्युत महशुलका कारण किसानलाई सिँचाइमा सहजता हुनेछ, कम लागतमा फाँट मुनीको पानी ल्याउदा बाँझो जग्गा हराभरा हुँने अपेक्षा हाम्रो छ” आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो “यो वर्ष मुख्य स्थानबाट सिँचाइ थाल्छौं, आगमी वर्ष वितरण लाईन समेत विस्तार गरेर दम्काफाँटको २४ हेक्टर जमिन नै सिँचाइ गराउछौं, अहिले ठेक्का र उपभोक्ता समिति मार्फत दुई करोड खर्च भइसकेको छ ।”
निरन्तरको पहल तथा तत्कालिन सांसद तथा नगरप्रमुखको पहलमा दम्काफाँटमा योजना पर्न सफल भएको र अहिले कालीगण्डकीको पानी सफल रुपमा दम्काफाँटमा ल्याउन सफल भएको बागलुङ नगरपाकिला–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।
उहाँले बलेवाका अधिकांश जनताको खेतीयोग्य जग्गा दम्काफाँट भए पनि स्रोतको अभावमा हिउँदमा मात्रै नभएर वर्खामा समेत सिँचाइ असुविधा रहेको जानकारी दिनुभयो ।
“योजना ल्याउन लामो समय प्रयास थालियो, अहिले सफल भएका छौं, वर्खाको भल छोपेर खेत रोप्ने दम्काफाँटमा हिउँदमा समेत खेती गर्न सकिनेछ” शर्माले भन्नुभयो “यहाँका नागरिकले सिँचाइको अभावमै खेतीयोग्य जग्गा बाँझो राख्न थालेका थिए, आगमी वर्ष पुरै दम्का फाँटमा सिँचाइ गर्नका लागि आयोजनाले वितरण लाईन समेत जडान गरिने छ ।”
स्थानीय नागरिकको वर्षौदेखिको सिँचाइको माग पुरा गरिएको दम्काफाँट लिफ्ट सिँचाइ आयोजना, बागलुङ नगरपालिका–१३ स्थित उपभोक्ता समितिका अध्यक्ष ओम तक्मेलले जानकारी दिनुभयो ।
उपभोक्ता समिति र ठेक्का मार्फत लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएको बताउदै उपभोक्ता समिति मार्फत २४ हेक्टर जग्गामा सिँचाइ सुविधा विस्तारको काम अझै बाँकी रहेको बताउनुभयो ।
एक करोड ४४ लाखमा पपैँया÷विएसी इलाम जेभीले २०८० असार २१ मा ठेक्का सम्झौता गरेर २०८१ पुस मसान्तमा निर्माण सम्पन्न गरेको थियो ।
त्यसपछि उपभोक्ता समिति मार्फत बाँकी काम सम्पन्न भएको हो । उपाभोक्ता मार्फत अहिले सम्म २७ लाख खर्च भइसकेको र उपभोक्ता समिति मार्फत लागत स्टमेटमा भएको शाखा लाईन विस्तार लगायतको काम बाँकी रहेको छ ।