गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

आदर्श सञ्चार, बागलुङ
बागलुङको गलकोटमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) संचालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा संचालन भएको हो । रु १४ लाख लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेपछि नगरपालिले रु १५ लाखमा पूर्वाधार निर्माण गरि सेवा सुरु गरेको हो ।

पश्चिम बागलुङमा अहिलेसम्म रक्तसञ्चार सेवा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नु परेको हुँदा दातासँग सहकार्य गरेर सेवा सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार सेवाका लागि मेसिन लगायतका अत्यावश्यक उपकरण दिएको उहाँको भनाइ छ ।

“नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, दूर दराजका नागरिकहरु सामान्य उपचारका लागि पहिले पोखरा, काठमाडौँ जानु पर्ने बाध्यता थियो, अहिले नगर अस्पताल संचालन गरेर विशेषज्ञ सेवा दिन थालेका छौँ” नगरप्रमुख गैरेले भन्नुभयो – “अहिले नगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ, यहाँ रक्तसञ्चार सेवाको निकै खाँचो थियो, यसपाली विभिन्न दाताहरुसँग सहकार्य गरेर त्यसको पनि व्यवस्थापन गरेका छौँ ।”

गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले अस्पतालमा प्रसुति, शल्यक्रिया र गम्भीर दुर्घटनाका बिरामी आउने तर रक्तसञ्चार सेवा नहुँदा पोखरा, काठमाडौँ रिफर गर्नु परेको भन्दै अब त्यो समस्याको समाधान भएको बताउनुभयो । पछिल्लो समय रक्तसञ्चार सेवा लिने बिरामीसमेत बढेको उहाँको भनाइ छ । शल्यक्रियामार्फ प्रसूति गराउने महिलाहरुलाई रक्तसञ्चार सेवाले महत्वपूर्ण सघाउ पु¥याउने डा.पौडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “गलकोट क्षेत्रमा एउटा ‘ब्लड बैंक’को अति आवश्यक थियो, पहिले यो सेवा नहुँदा यहाँबाट महिनामा करिब १२/१५ जना बिरामीलाई टाढा पठाउन बाध्य थियौँ, अब चाही यहीबाट सेवा दिन सक्ने भएका छौँ, यो सेवाले पश्चिम बागलुङका छ वटा पालिकाका हजारौँ नागरिकला भाम्वित हुने छन् ।”

वि.सं. २०७९ सालदेखि सुरु भएको नगर अस्पतालमा हाल १५ शैयाको सेवा सुरु भएको छ । अस्पतालबाट अहिले भिडियो एक्सरे, अल्ट्रसाउन्ड, ल्याब, फिजियोथेरापी, आँखा उपचार केन्द्र, ओपीडी, सुत्केरी सेवासहित पोस्टमार्टम सेवा सञ्चालन भइरहेको डाक्टर पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्