खेमराज गौतम, बागलुङ
न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन ह्वातै बढेको छ । पछिल्लो समय अध्ययन तथा अवलोकन भ्रमण, तीर्थ यात्राको नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको हो ।
गण्डकी प्रदेशकै प्रशिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर, पञ्चकोट तथा शालग्राम संग्रहालय परिसरमा आन्तरिक पर्याटकको सयौ सवारीसाधन देखिने गरेका छन् । पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा पार्कीङ व्यवस्थापनमा समेत हम्मे पर्न थालेको छ ।
नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाइघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिक रुपमा वृद्धि भएको छ । कुनै विराटनगर त कुनै पोखराबाट शैक्षिक अवलोकन भ्रमण, तिर्थ यात्रा लगायतको नाममा पछिल्लो रोजाई बागलुङको पर्यटकीय गन्तव्यहरु पर्न थालेहका छन् ।
हरेक दिन धार्मिक पर्यटकीय स्थल पञ्चकोट तथा वालाजीधाम मन्दिर कुडुँले स्थित शालग्राम संग्रहालयमा नेपालका विभिन्न स्थानबाट घुम्नआउनेहरुको लर्कोनै लाग्न थालेको छ । पछिल्लो एक वर्षमा एक लाख भन्दा बढी पर्यटकले शालग्राम संग्रहालयको दर्शन गरेका स्थानीय अर्जुन सापकोटाले जानकारी दिनुभयो ।
उहाँले नयाँ वर्ष २०८२ सालको अवसरमा कुडुँलेको शालग्राम शिलामा अहिले सम्मकै धेरै पर्यटक आएको बताउनुभयो । उहाँले चैतेदशैं यता विद्यालय तथा क्याम्पसहरुले विद्यार्थीहरुलाई शैक्षिक भ्रमणका लागि विभिन्न स्थानहरुमा लैजाने गरेकोमा अधिकांश पोखरा क्षेत्रबाट भ्रमणका लागि यहाँ आएको बताउनुभयो । “नयाँ वर्षमा आन्तरिक पर्यटकका कारण शालग्राम संग्रहालयमा टेक्ने ठाउँ थिएन, त्यस यता बिदाको समयमा आन्तकिर पर्यटकको भीड नै लाग्ने गरेको छ” सापकोटाले भन्नुभयो “सदरमुकामबाट जम्मा चार किमिमा रहेको शंग्रहालय अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक मुस्ताङ समेत पुग्ने गरेका छन् ।”
बागलुङ कालिका मन्दिर लगायत बागलुङ नगरपालिका आसपासका पर्यटकीय स्थलमा मुक्तिनाथ हिडेका तथा शैक्षिक भ्रमणका लागि पर्यटकहरु आउनेक्रममा वृद्धिभएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । उहाँले चैते दशैं र वडा दशैंमा भीड हुँने कालिका मन्दिरमा नयाँ वर्ष सहित अन्य दिनमा समेत भीड लाग्न थालेको बताउनुहुन्छ । उहाँले नयाँ वर्ष यता धार्मिक पर्यटकहरुको संख्या बढेको भन्दै चैते दशैंमा मात्रै छ लाख पर्यटक भित्रिएको बताउनुभयो ।
पर्यटनका हिसावले बागलुङ जिल्ला राम्रो भन्ने सुनेर सात दिने शैक्षिक भ्रमणका क्रममा एक दिन बागलुङलाई छुट्टाएर आएको हेटौडाका राम मर्हजनले जानकारी दिनुभयो ।
उहाँले बागलुङ जिल्लाको पञ्चकोट, कुडु्ँलेको शालग्राम संग्रहालय र कालिका मन्दिर दर्शनका लागि आएको बताउनुभयो । भ्रमण टोली पोखरा घुमरे बागलुङ हुँदै म्याग्दी र मुस्ताङ जाने योजना रहेको मर्हजनले जानकारी दिनुभयो । मुस्ताङमा हिडेका पर्यटकहरुलाई समेत पछिल्लो समय बागलुङ जिल्लाका पर्यटकीय गन्तव्यहरुले आर्कषित गर्न थालेको पर्यटनव्यवसायीहरु बताउछन् । यो सिजनमा शैक्षिक भ्रमण तथा घुम्न आउने पर्यटकहरुका कारण बागलुङका स्तरीय होटलहरु समेत भरिना थालेको होटल व्यवसायी अर्जुन चोखालले बताउनुभयो । उहाँले सुविधा सम्पन्न होटल दैनिक जसो पर्यटकले भरि भराउ हुने बताउनुभयो ।
नेपालका सय पर्यटकीय गन्तव्यको सूचिमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनु तथा पर्यटन व्यावसायिको सक्रियता कढ्नाले पछिल्लो समय बागलुङमा आन्तरिक पर्यटकहरुको आगमन ह्वातै बढ्न थालको छ ।