रेशमा चियाको व्यवसायिक उत्पादन सुरु

आदर्श सञ्चार, बागलुङ

झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान दंग परेका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान चिया टिप्न व्यस्त छन् । रेशमा चियाको प्रचुर संभावना रहेकाले समुदाय, सहकारी र विद्यालय मिलेर चिया खेती गरेका थिए । रेशको बौर, तिङरिङ लगायतको ठाउँमा अहिले १६२ रोपनी जग्गामा चियाखेती रहेको छ ।

गत वर्ष नमूनाका रुपमा परम्परागत शैलीबाट चिया उत्पादन गरेपनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन् भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरु हुर्किरहेका छन् । पाँच वर्षमै चियाका बोटले पूर्ण रुपमै उत्पादन दिन थालेकाले हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्ने क्रम मंसिर सम्म जारी रहने किसानको भनाई छ ।

३५ रोपनी विद्यालयको जग्गामा चिया खेती गरिरहेको जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मर बहादुर थापाले जानकारी दिनुभयो । उहाँले रेशमा चियाको सुरुवात विद्यालयकै जग्गाबाट भएको बताउदै दाउर विक्रि गर्ने पाखो अहिलय चिया बगान भएको बताउनुभयो । रेशमा साना किसान सहकारी संस्थाको अगुवाईमा चियाखेती विस्तार भइरहेको थापाले बताउनुभयो । विद्यालयले चियाका विरुवा समेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ ।

अहिले रेशमा साना किसान सहकारीको ६७ रोपनी, स्थानीय नागरिकको ६० रोपनी तथा विद्यालयको ३५ रोपनी गरी १६२ रोपनी जग्गामा चियाखेती विस्तार गरिएको छ । जसमध्ये पहिलो चरणमा लगाइएको विद्यालय र स्थानीयको ७० रोपनी जग्गामा मात्रै चिया उत्पादन भइरहेको र अन्य स्थानका चियाका विरुवा हुर्कदै गरेको साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिनुभयो ।

रेशले एक वर्ष भित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरण समेत रु. १८ लाख लागतमा स्थानीयले रकम संकलन गरी खरिद गरेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“सुरुमा ताराखोलाबाट विरुवा लिएर रोपेका थियौ, पछि सहकारीकै अगुवाईमा विरुवा उत्पादन गरेका हौं, सुरुमा गण्डकी प्रदेशको मुख्यमन्त्री नमूना कृषि गाउँले किसानलाई चिया खेतीमा अग्रसरता दिलायो” लामिछोले भन्नुभयो “गत वर्ष परिक्षणका रुपमा हातले ग्रिन चिया उत्पादन गरेका थियौ, तर व्यवसायिकता थिएन, अहिले चियाको उत्पादन समेत बढ्दो छ, आफै चिया बनाउने उपकरणले किसानलाई चिया उत्पादनमा व्यवसायिकता ल्याएको हो, ग्रिन चियालाई किलोकै दुई हजार भन्दा बढीमा बिक्रि गर्न सकिन्छ, यहाँको विद्यालय, सहकारी र स्थानीयलाई झाडी फाडेर लगाएको चियाले आय आर्जनमा सघाउनेछ ।”

पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चिया खेती विस्तार थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताउनुहुन्छ । थप ५० हजार चियाका विरुवा लगाउने योजना रहेको उहाँको भनाइ छ ।

चियाखेती थालेपछि गाउँमा चियाबगान अवलोकनका लागि समेत पर्यटकहरु आउन थालेका छन् । छ वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक/टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक रेशको चिया बगानमा आउने गरेका हुन् । यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।

पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न बिहुँको थामानेटामा समेत पहिलोपटक चियाखेती थालिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले बताउनुभयो ।

 

यो पनि पढ्नुहोस्