डम्मर बुढा मगर, बागलुङ
बागलुङका छ वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको हो ।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना उमेर समुहका चार सय ४९ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा रहेको उहाँको भनाइ छ ।
गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनाका चार सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका तीन सय २७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको र ति सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
त्यस्तै ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समुहका छ सय ८ जना बालबालिका र १६ देखि २३ महिना उमेर समुहका चार सय ५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताउनुभयो । गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत्र र बैशाख महिनामा ९ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको उहाँको भनाइ छ ।
जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समुहका तीन सय १३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समुहका दुई सय २६ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका एक सय २३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिनुभयो । पलिकामा छ वटा स्वास्थ्य संस्था रहेको र ति सबैबाट खोप सेवा दिइ रहेको उहाँको भनाइ छ ।
बरेङ गाउँपालिकामा १५ महिना उमेर समूहका एक सय ३६ जना नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिना उमेर समूहका ५०९ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा पदमबहादुर पुन जानकारी दिनुभयो । गाउँपालिका भर १० वटा स्वास्थ्य संस्था छन् ति सबैबाट बालबालिकालाई खोप दिने गरेको उहाँको भनाइ छ ।
अब निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बडिगाड पूर्णखोप घोषणा हुन बाँकी छन् । यि चार पालिका घोषणा भएपछि मात्रै बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । यही जेठ २५ गतेसम्म सबै पालिका सम्पन गरि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने उहाँको भनाइ छ ।