खेमराज गौतम, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नोपलमा केही भएन भन्ने निराशा त्याग्न आम जनतालाई आग्रह गर्नुभएको छ । उहाँले नेपाल समृद्ध उन्मुख भइरहेकाले नेपालमा केही भएन भन्ने निराशको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्राणली अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
माओवादीले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बागलुङमा मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसंग यहाँका जनतालाई जोडेको बताउनुभयो ।
उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको बताउदै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताउनुभयो । प्रचण्डले मध्यपहाडी जनजागरण अभियानमा आम नागरिकको गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताउनुभएको छ ।
दलित, किसान, मजुदर, उत्पीडन वर्ग सबैको समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै रहेको बताउनुभयो ।
“लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुल्ला भएको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ, बागलुङको अछेते–गलकोट शुरुङमार्गको डिपिआर अघि बढेको, गलकोट म्याग्दी जाने सडक सकिएमा यहाँका जनता निराश हुन आवश्यक छैन” अध्यक्ष प्रचण्डले भन्नुभयो “५० हजार मासिक तलब छोडेर तल्लो बाटो अमेरिका जानेलाई त केही भन्दिन तर खानै नपुगेर विदेश जाने बातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले बातावरण बनाओस, मैले साथ दिन्छु, तर नेपालमा केही पनी भएन भन्ने कुरा भ्रम मात्रै हो ।”
उहाँले सस्तो आयोजनाको रुपमा रहेको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना अघिबढ्न आफूले पटक–पटक कुरा उठाएको बताउदै बागलुङलाई कायापलट उक्त आयोजनाले गर्ने जानकारी दिनुभयो ।
प्रचण्डले नेपालको मुख्य समस्या भनेकै भ्रष्ट्राचार रहेको बताउदै भ्रष्ट्राचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले विदेशबाट फर्केका, दलित, जनजाती, शहिद परिवारलाई लक्षित गरेका योजना अहिलेको सरकारले कटौती गरेको आरोप लगाउनुभयो । अहिलेको सरकारले भष्ट्राचारीलाई संरक्षण गरेको प्रचण्डको जिकिर रहेको छ । सरकारले सुशासन कायम गर्न नसके ठूलो मुल्य चुकाउने प्रचण्डले बताउनुभयो ।
प्रचण्डले जनसंवाद कार्यक्रममा उठेको शिक्षा, उद्यम तथा सहकारी समस्याको विषयमा जनताको जिज्ञासा मेटाउनुभएको थियो । उहाँले कार्यक्रममा एक दर्जन शहिद परिवारका आफन्तलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । बिहीबार बागलुङको पातीहाल्नेबाट शुरु भएको जनसंवाद जागरण अभियान, बुर्तिबाङ, गलकोट, ताराखोलामा सम्पन्न भएको थियो । शुक्रबार बागलुङ बजारमा जनसंवाद प्रश्चात माओवादीको जागरण अभियान पर्वत जिल्ला प्रवेश गरेको छ ।