डम्मर बुढा मगर, बागलुङ
बागलुङ गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक कालोपत्र गरिएको छ । ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो । करिब आठ किलोमिटर लामो रहेको यो सडक वि.सं. २०६० सालमा ‘ट्रयाक’ खुलेको थियो । सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन् ।
ग्रामीण क्षेत्रलाई बजारसँज जोड्नका लागि निर्माण भएको यस सडकले गलकोट नगरपालिकाको मजुवासहित कादेस, ठाना लगायतका एक दर्जन गाउँबस्तीलाई जोडेको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले कालोपत्र गरिएको हो । पूर्वधार विकास कार्यालय बागलुङमार्फक काम भइरहेको छ ।
निर्माण कम्पनीले पहिलो चरणमा डेढ किलोमिटर सडक कालोपत्रका गर्नका लागि रु दुई करोड १३ लाख १४ हजार ७२६ मा जिम्मा पाएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्र पुनले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ । सडक कालोपत्रका लागि एम÷एस जेभीले जिम्मा पाएको उहाँको भनाइ छ ।
वि.सं. २०८१ जेठ १८ गते सडक निर्माणका लागि सम्झौता भएको पुनले बताउनुभयो । अब काम गर्ने समयावधि आगामी असार १८ गतेसम्म रहेको उहाँको भनाइ छ । यस वर्ष नाली निर्माण, कालोपत्र तथा ढलकानको काम भएको इन्जिनियर पुन बताउनुहुन्छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा समयमै सकिने संभावना रहेको उहाँले बताउनुभयो ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको बताउनुभयो । नगरपालिकाको सडक कालोपत्रका लागि बजेट कम हुने हुँदा अहिलेसम्म गर्न नसकिएको उहाँको भनाइ छ । प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम भएको भण्डारीले बताउनुभयो ।
प्रवक्ता भण्डारीले भन्नुभयो – “यो सडकले गलकोटमा थुप्रै गाउँबस्तीहरुलाई जोडेको छ, बर्खा लाग्ना साथ गाडी हिलोमा फस्ने हुँदा निकै सास्ती थियो, हिउँदमा धुलोले सडक छेउँका घरहरु ढपक्कै ढाकिन्थे, अब त्यो समस्या समाधान हुने भयो, गाउँमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूलहरु पनि सहज रुपमा बजार ल्याउन सकिने भएको छ, यसबाट सबैभन्दा बढी किसान लाभाम्वित हुने छन् ।”