आदर्श सञ्चार, बागलुङ
जैमिनी नगरपालिका भित्रका तीन छोटा सडक अहिले धमाधम कालोपत्र भइरहेको छ । जैमिनी नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छ भने र नगरपालिकाको केन्द्र कुश्मिसेरा देखि सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्रको अन्तिम चरणमा पुगेको हो । कालोपत्र गरिने तीन वटै सडकको लम्बाइ जम्मा पाँच किलोमिटर रहेको छ । तीन वटै सडकको लागत रु. ८ करोड १८ लाख लागत रहेको छ ।
जैमिनी नगरपालिका, संघीय सरकार र प्रदेश सरकारको साझेदारीमा तीन वटा सडक एक साथ कालोपत्रको काम भइरहेको जैमिनी नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकालाई जोड्नेगरी टाकुरी खण्डमा रु. एक करोड २६ लाख ६७ हजार लागतमा एक किमि सडक कालोपत्र भइरहेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौर र जैमिनी नगरपालिका–१ कुश्सिेराको सिमानाको एक किलोमिटर सडक स्तरोन्नती सकेर कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र भएपछि बागलुङ बजारबाट सिधै कुश्मिसेरा पक्की सडकबाट पुग्न सकिने छ ।
बागलुङ बजारदेखि कुश्मिसेरा खण्ड अन्र्तगत सोही ठाउँ बाहेक अन्यत्र कालोपत्र भइसकेको थियो । उक्त सडक खण्ड स्तरोन्नतीका लागि २०८० चैतमा गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको साझेदारीमा स्तरोन्नतीका लागि ठेक्का लगाइएको थियो ।
यस्तै जैमिनी नगरपालिका–१ जैमिनीधामको कालीगण्डकी करिडोरदेखि पालिकाको केन्द्र कुश्मिसेरा सम्मको सडक धमाधम कालोपत्र भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा राष्ट्रिय राजमार्गसंग पक्की सडकले जोड्न एक किमि सडक कालोपत्र गरिएको छ भने थप एक किम कालोपत्रको चरणमा पुगेको छ ।
जैमिनीधामदेखि पहिलो खण्डको झण्डै एक किमि काम कालीगण्डकी करिडोरले कालोपत्रका लागि स्तरोन्नती समेत सम्पन्न भइसकेपछि उक्त समेत कालोपत्र गर्ने तयारीमा छ । केबीसी÷एसी जेभी निर्माण सेवाले रु. तीन करोड २० लाखमा उक्त सडकको स्तरोन्नती संगै कालोपत्र गरिरहेको छ ।
यस्तै कुश्मिसेरा देखि सकुर्वा हुँदै ब्याडथाल सडकको मौलाछ खण्डको दुई किलोमिटर सडक संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा कालोपत्र गर्ने तयारीमा रहेको छ । स्तरोन्नतीको काम सम्पन्न भई कालोपत्रका लागि तयारी भएको उक्त सडक दुई किलोटिमर लामो रहेको छ । जैमिनी नगरपालिकाको समपुरक तथा शहरी विकास मन्त्रालय तथा गण्डकी प्रदेशको गरी जम्मा रु. तीन करोड ७२ लाखमा उक्त सडक स्तरोन्नती संगै कालोपत्र गर्ने चरणमा पुगेको उपप्रमुख शर्माले जानकारी दिनुभयो ।
“सरङ्गी–जैमिनी सडकको टाकुरी खण्ड एक किमि, करिडोर देखि कुश्मिसेरा दुई किमी र कुश्मिसेरा देखि मौलाछमा दुई किमी गरी असार सम्म पाँच किमि सडक कालोपत्र भइसक्नेछ, अहिले दुई वटा सडको तीन किलोमिटर कालोपत्र अन्तिम चरणमा छ भने मौलाछमा दुई किलोमिटर सडक कालोपत्रको तयारी छ” उपप्रमुख शर्माले भन्नुभयो “पालिकाको केन्द्रमा सदरमुकामबाट आउदा अब धुलो र हिलो हुँन पर्देन, निरन्तरको पहल र समन्वयले थोरै तर महोत्वपूर्ण तीन सडकको पाँच किलोमिटर सडक कालोपत्रले केही राहत मिलेको छ, यसै वर्ष जैमिनी नगरपालिका भित्र कालीगण्डकी करिडोरको १२ किलोमिटर सडक पक्की भएपछि दक्षिण बागलुङका जनतालाई राहत मिलेको छ ।”
तीन वटै सडकको चौडा पार्ने, पानी जमेको स्थानमा ढलान गर्ने, नाली निर्माण गर्ने र आवश्यक स्थानमा ग्याबिन जाली लगाउने कार्य पश्चात कालोपत्र गालिएको छ ।