आदर्श सञ्चार, बागलुङ
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा शुक्रबार ‘उबेलाको पत्रकारिता’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ ।
अन्तरसंवाद कार्यक्रममा ४० को दशकमा पत्रकारिता गरेका, धौलागिरीको पत्रकारितको विषयमा खोज तथा अनुसन्धान गर्ने व्यक्ति तथा उबेलको संघर्षपूर्ण अवस्थामा थालिएको पत्रकारितको विषयमा तीन जना अग्रज व्यक्तसंग अन्तरसंवाद कार्यक्रम गरिएको थियो ।
धौलागिरीको ६ दशको पत्रकारिता पुस्तकका संकलनकर्ता तथा साहित्यकार प्रेम छोटा, अग्रज पत्रकार विश्वनाथ रेग्मी र प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यसंग उबेलाको पत्रकारितको विषयमा अन्तरसंवाद गरिएको प्रेस युनियन बागलुङका अध्यक्ष संघम घर्ती मगरले जानकारी दिनुभयो ।
धौलागिरीको पत्रकारितामा २००८ असोज १५ गते प्रकाशित हस्तलिखित पत्रिका सहि बाटोनै पत्रकारिता क्षेत्रको पहिलो पत्रिका रहेको अग्रज पत्रकार विश्वनाथ रेग्मीले बताउनुभयो ।
उहाँले राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्दा आफूले प्रति समाचार पाँच, दश र पन्ध्र रुपैयामा पारिश्रमिक लिएको सुनाउनुभयो ।
४० दशकमा रासस र रेडियो नेपालमा काम गर्नुभएको रेग्मीले सडक र सञ्चार बिनाको पत्रकारिता निकै कठिनपूर्ण रहेको सुनाउनुभयो । उहाँले पञ्चायत, राजतन्त्र र माओवादीको जनयुद्धको बीचमा गरिने पत्रकारिता निकै कठिनपूर्ण पत्रकारिता रहको बताउनुभयो ।
अहिलेको पत्रकारिता पहिलेको भन्दा सहज र छिटो भएको बताउदै आफैले लेखेको समाचार सुन्न एक महिना कुर्नुपर्ने अवस्था रहेको स्मरण रेग्मीले गर्नुभयो ।
यस्तै सयपत्री एफएमका संस्थापक तथा अग्रज पत्रकार जगन्नाथ आचार्यले पत्रकार जहिलै तथ्यपरक ढंगबाट समाचार लेख्नुपर्ने बताउनुभयो । पहिले जस्तो पत्रकारलाई झुटा मुद्दा लगाउन अहिले नपाइने बताउनुभयो । उहाँले प्रहरीले पन्चायतको बिरुद्धमा लेख्दा पटक–पटक पक्राउ भएको सुनाउनुभयो । आचार्यले पत्रकारिता क्षेत्रले समाजलाई सचेत बनाउने भन्दै पत्रकारिता निश्पक्ष हुँन आवश्यक रहेको जानकारी दिनुभयो ।
यस्तै साहित्यकार प्रेम छोटाले धौलागिरीको पत्रकारितामा छ दश यता निकै विकास भएको बताउनुभयो । उहाँले इतिहासलाई आफूले संग्रह गरेको भन्दै भावी पुस्ताका लागि पत्रपत्रिकाको ६ दशकको नमूना अंक संग्रह गरेर पुस्तक प्रकाशन गरेको बताउनुभयो । उहाँले पत्रकारिता पहिलाको भन्दा सहज भएपनि डिजिटल युगमा थप अन्य चुनौती थपिएको बताउनुभयो ।
कार्यक्रम प्रेस युनियन बागलुङका अध्यक्ष संघम घर्तीको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत तथा सचिव डम्मर बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।