गणतन्त्रलाई संस्थागत गर्न युवालाई स्वदेशमै रोजगार दिनु पर्नेमा जोड

आदर्श सञ्चार, बागलुङ
बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्रलाई संस्थागत गर्नका लागि युवालाई स्वदेशमै रोजगार दिनु पर्ने बताएका छन् । शुक्रबार बागलुङमा १८ औँ गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले राजनीतिक दल र नेताहरु सुध्रिनु पर्नेमा जोड दिए ।

सरकारको प्राथमिकता आम नागरिकको समस्या समाधान गर्नु पर्ने तर्फ हुनु पर्ने वक्ताहरुको भनाइ छ । पछिल्लो समय स्थानीय तहमा फजुल खर्च बढ्दै गएको र बेरुजुसमेत बढेको भन्दै यसलाई न्यूनिकरण गर्नु तर्फ जनप्रतिनिधि लाग्नु पर्ने उनीहरुले बताए । युवा विदेश पलायन भएपछि गाउँ रित्तिदै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरे ।

देशमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था जहाँको त्यहीँ रहेको वक्ताहरुले गुनासो गरे । राजनीतिक दल र नेताको चरित्र सुधार नभए गणतन्त्र संकटमा पर्ने उनीहरुको भनाइ छ । नागरिकमा राजनीतिक दलप्रति वितृष्णा बढ्दै गएको वक्ताहरुले बताए । दुर दराजका नागरिकले अझै पनि सामान्य बिरामी हुँदा उपचार पाउन नसकेको गुनासो पोखे ।

व्यवस्थालाई सुधार गर्न आउने टिकाटिप्पणीबाट सिकेर दलहरुले सुधारिएको गणतन्त्र बनाउनुपर्ने धारणा समेत राखे । गणतन्त्र स्थापनाको १८ वर्ष पुगिसक्दा पनि राजनीतिक नेतृत्व नफेरिनुले जनतामा चरम निराशा आएको पनि उनीहरुको भनाइ थियो । सो अवसरमा संविधान सभाका सदस्य प्रकाश शर्मा पौडेलले संसारकै उत्तम शासकीय व्यवस्था राखेपनि पात्र र प्रवृत्तिमा सुधार नभएकोले जनतामा निरासा आएको बताउनुभयो । पहिलो चरणमा संघको निर्वाचन गर्ने त्यसपछि प्रदेश र स्थानीय तहमा पुग्न सकेको भएपनि कतिपय सुधार हुने उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी, माओवादीका प्रदेश सदस्य कुमार बिक्रम क्षेत्री, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तेजबहादुर थापा, नेकपा एसका अध्यक्ष पिंगलराज गौतम, अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीतादेवी सापकोटा कँडेल, प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ,  पत्रकार मुकेशचन्द्र राजभण्डारी, धौलागिरि बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने लगायतले बोलेका थिए ।

माओवादीका केन्द्रीय सदस्य कृष्ण केसीको अध्यक्षता, नेपाली कांग्रेसका जिल्ला सचिव तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको संचालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, भातृ संगठन, युवा तथा विद्यार्थी संगठन, सामाजिक संस्था, नागरिक अगुवा समेतको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्