जैमिनीमा १४० रोपनी बाँझो जग्गामा केराखेती विस्तार

आदर्श सञ्चार, बागलुङ
बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा क्षेत्र केरा खेतीमा प्रसिद्ध छ । अहिले बगालुङ बजारमा स्थानीय केरा अधिकांश जैमिनी नगरपालिकाबाटै आउने गरेको छ । नगरपालिकाले कुश्मिसेरा क्षेत्रलाई केराको हब बनाउदै बाँझो जग्गा उपयोगिको नीति ल्याएपछि यहाँका किसान केरा खेतीमा आकर्षति भएका छन् ।

चालु आर्थिक वर्षमा नगरपालिकाले ‘सेरा जाउँ, केरा खाउँ’ नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । उक्त कार्यक्रम मार्फत रु. १२ लाख लागतमा १४० रोपनी जग्गामा तीन हजार ५०० केराका बिरुवा लगाउने लक्ष्य अनुसार ७० प्रतिशत प्रगति भइसकेको छ । अहिले जैनिमी नगरपालिका–१ कुश्मिसेराको १४० रोपनी जग्गामा केरा खेती विस्तारको काम भइरहेको छ । कुश्मिसेरामा उत्पादन हुँदै आएका स्थानीय जातको केरालाई नगरपालिकाले केरा पकेट क्षेत्रको रुपमा विकास गरेको जैमिनी नगरपालिका–१ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । कुश्मिसेराको फलाटे, भडारे र बिनामारेको केही स्थानमा धमाधम केरा खेती विस्तार भइरहेको आचार्यले जानकारी दिनुभयो ।

“पछिल्लो समय केराबाट यहाँका किसानले लाभ उठाउदै आएका थिए, नगरपालिकाले केरा खेतीमा प्रोत्साहन गर्दा बाँझो जग्गा सदुपयोग भयो, आगमी दिनमा समेत केरा विस्तारको कार्यक्रम निरन्तर चल्छ” वडा अध्यक्ष आचार्यले भन्नुभयो “धेरै मेहनत गर्न नपर्ने तर नगद आम्दानी दिने फलफूल मध्येको केराले यहाँका स्थानीयको आर्थिक उपार्जन भइरहेको छ, अहिले रैथाने जातको केराको बिरुवा निकाल्ने, र प्रति रोपनी २५ वटा खाल्टो खनेर केरा खेती विस्तार भइरहेको छ ।”

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराका किसानले केरा खेतीबाट वार्षिक लाखौ रकम भित्राउदै आएको स्थानीय केरा किसान मती प्रसाद शर्माले जानकारी दिनुभयो । काँचो केरालाई होलसेलमा प्रति दर्जन रु. ७० मा बिक्रि भइरहेको शर्माले बताउनुभयो । पाँच रोपनी जग्गामा केराखेती गर्दै आउनुभएको शर्माले केरा पकटे क्षेत्र विस्तार अन्र्तगत तीन रोपनी जग्गामा धमाधम केरा लगाइराखेको जानकारी दिनुभयो । उहाँ फलाटे कृषक समूह अन्र्तगत अन्य किसानलाई समेत केरा विस्तारमा सघाउदै आउनुभएको छ ।

रु. १२ लाख बजेटबाट बिरुवा खरिद, खाल्टो खन्न र बिरुवा लगाउन ५० प्रतिशत सुविधा किसानले पाउने शर्माको भनाई छ । एउटा खाल्टो तयार गर्न रु. १५०, विरुवा खरिद रु.३० र रोप्न रु. ३० निर्धारण गरेको शर्माले बताउनुभयो ।

यस्तै सिँचाइ पूर्वाधारका लागि फलाटे कृषि समूहले ८५ प्रतिशत अनुदानमा सिँचाइको व्यवस्था मिलाएको छ । स्थानीय जातको केराखेती विस्तार र सिँचाइ पूर्वाधारमा नगरपालिकाको रु.१२ लाख लगानी भएपनि किसानको श्रमदान जोड्दा रु.१८ लाख पुगेको जैमिनी नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । फलाटे, भडारा र साना किसान समूहमा विमानमारे १४० रोपनी क्षेत्रफलमा बाँझो जग्गा सदुपयोग गरेर केरा खेती विस्तार गरिरहेको छ ।

केराखेती विस्तार गर्नेमा पहिलो चरणमा ५० भन्दा बढी किसान रहेको जैमिनी नगरपालिकाले जनाएको छ । भाडारा, फलाटे, बिनामारे, वडारे, टार, टुनीवोट, खौरीकेस, मिरिघार र खौला लगायतमा गाउँमा खेराखेती विस्तार गरिएको छ ।

समुन्द्री सतहबाट ६ सय मिटरमात्रै उचाइ रहेकोले जैमिनीघाट र कुश्मीसेरा केरा खेतीका लागि अति उपयुक्त हावापानी रहेको छ । वडा नम्बर–१ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केरा खेती गरेका छन् । यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केराको व्यावसायिक उत्पादन गरीरहेका छन् ।

 

यो पनि पढ्नुहोस्