आदर्श सञ्चार, बागलुङ
नेपालकै २२ ठूला परम्परागत खानी मध्येको एक हो, जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौं सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खनन्को पर्खाइमा रहेको छ । केही सुरुङ मार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षति समेत पु¥याएको छ । तामा निकाल्ने व्यक्तिहरुको मृत्यु भइसकेकाले जीवन्त इतिहाससमेत पछिल्लो समय मेटिन थालेको छ ।
राङ्खानीका ९५ वर्षीय बम बहादुर श्रीसले घर नजिकैको पाखोबाट आफ्ना बाबु बाजेले तामाको धाउ निकालेको जानकारी दिनुभयो । “बाबाले त धेरै तामा खन्नु भएन, बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपालननै गर्नुभएको थियो रे, पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको हो” स्थानीय वृद्ध श्रीसले भन्नुभयो “पाखैभरी तामाखनेका डोबहरुछन्, चार मिटरदेखि ५० मिटरसम्मका सुरुङहरु अझै छन्, हामीले सुरुङमा हिडेकासमेत छौं, तर कतिपय सुरुङहरु मेटिन थालेका छन्, पहिरोले पुरिएको अवस्थासमेत छ, उत्खनन्मा सरकाले जोड दिन आवश्यक छ ।”
राङ्खानी क्षेत्रमा तामाखानीका थुप्रै सुरुङका प्वालहरु छन् । जसमध्ये केही सुरुङका प्वालहरु मेटिन थालेका छन् । राङ्खानीको डाँडाखानी लगायतका क्षेत्रमा १२० वर्षभन्दा अघिसम्म उत्खनन् गरिएका तामाखानी यतिबेला पुरिने अवस्थामा पुगेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन् बन्द भएको तामाखानी अझै सञ्चालनमा आउन नसकेको हो । तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको स्थानीय बम बहादुर श्रीसले जानकारी दिनुभयो ।
स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको श्रीसले बताउनुभयो । अहिले पनि तामाका अवशेष रहेकाले यहाँको सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनु पर्ने स्थानीयवासीको माग छ । स्थानीयले खानी सञ्चालनमा ल्याउदा स्थानीय सरकार र स्थानीयको आयआर्जन बढ्ने बताउनुभयो ।
खानीबाट स्थानीयवासीले आफ्नै सीप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्ने गरेकोमा पछिल्लो प्रविधिको विकासले ठूलो मात्रमा तामाखानी निकाल्न सकिने स्थानीय लाल बहादुर पुनले जानकारी दिनुभयो । यहाँ रहेको खानीमा अन्य जिल्लाका मजदूरहरुसमेत आएर काम गर्ने गरेकाले यहाँ ठूलो मात्रमा तामा रहेको अनुमान गरिएको छ ।
बाउबाजेले तामाको धाउलाई कुटेर तामा निकाल्थे भनेर सुन्ने गरेको र तामा निकालिएको सुरुङसमेत पाखैभरी रहेको स्थानीय डम्मर बहादुर बिकले जानकारी दिनुभयो । उहाँले एउटा सुरुङको प्वालबाट छिरेर अर्को प्वालबाट निस्कन सकिने बिकले बताउनुभयो ।
“२२ खानी अन्तरगत राङ्खानी पर्दथ्यो, ठूलाखानीहरुलाई जोडेर कर संकलनमा २२ खानी पु¥याइएको थियो” बिकले भन्नुभयो “१४ धार्नी तामा बोकेर नेपाल अर्थात अहिलेको काठमाण्डौ लैजान पर्ने थियो, तामाको सुरुङ गहिरो हुँदै जाने तर कर बढी भएकाले बिस्तारै तामाखानी बन्द भएको पाइन्छ ।” त्यही खानीबाट उत्पादन भएको तामाको भाडा कुँडा अझै रहेका छन् ।
खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले केन्दै सरकारले पहलकदमी गर्नुपर्ने वडाअध्यक्ष श्री प्रसाद थापाले जानकारी दिनुभयो । दमेक र राङ्खानी क्षेत्रमा खानीको संभाव्यता अध्ययन जैमिनी नगरपालिकाले गरिरहेको बताउनुभयो । तामाको उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन भएकाले राङको खानी भएकाले तत्कालीन राजा रजौटाहरुले यस ठाउँको नाम नै राङ्खानी राखिएको भन्ने चलन छ ।
स्थानीय बुढापाकाहरुले राँगाको गर्धनजत्रो धाउ निस्किएकाले राङ्खानी नामाकरण समेत गरिएको भन्ने चलन रहेको पाइन्छ । बागलुङको तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिका भित्रको खानी उत्खनन्का लागि संभाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट अनुमती प्राप्त भएपनि यकिन तथ्याङ्क आउन सकेको छैन ।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी रहेका छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन् । ढुङ्गाखानी केही स्थानमा उत्खनन हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन हुनसकेका छैनन् ।