डम्मर बुढा मगर, बागलुङ
जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । निसीखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो । वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय अहिले आँगन छेउकै धारामा पानी झर्दा दंग छन् ।
भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । उक्त गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्नका लागि नेवाको रु १३ लाख ३० हजार ११३, गाउँपालिकाको रु सात लाख सात ७७७ र जनश्रमदान रु आठ लाख छ हजार ३७१ गरि कुल रु २८ लाख ३७ हजार २६१ मा ५५ धारा निर्माण गरिएको छ । भल्कोट गाउँमा चार हजार ९१५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी लिएर घरघरमा पु¥याएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी झर्न थालेको छ । त्यस्तै बुढाथोकमा नेवाको रु ११ लाख ५५ हजार १५, गाउँपालिकाको रु छ लाख ६४ हजार ९५५ र जनश्रमदान रु छ लाख ५७ हजार ९०८ गरि कुल रु २४ लाख ७७ हजार ८७८ मा ३९ धारा निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
यस गाउँमा दुई १०० मिटर लामो दूरीमा रहेको मुहानबाट पाइप लाइनमार्फत घरघरमा पानी पु¥याएको उहाँको भनाइ छ । गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयले माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर ‘एक घर, एक धारा’ निर्माण गरेको कोइराला बताउनुहुन्छ ।
घर–घरमा धारा बने पनि स्थानीय हर्षित भएका छन् । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुँदा नियमित खानेपानी आपूर्ति नहुने समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताउनुभयो । स्थानीयलाई खानेपानी लिन, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उहाँको भनाइ छ । अब घरमै धारा बनेपछि खानेपानीको समस्या समस्या नहुने बुढा मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो – “गाउँ धेरै वर्ष अगाडि बनेका थोरै धारा थिए, ति धाराबाट पानी थाप्न समस्या थियो, सानो पानी आउने, त्यसमा पनि धेरैले एकै पटक पानी भर्न खोज्दा लाइनमा बस्नु पथ्र्यो, सरसफाइ गर्न र वस्तुभाउ खुउनका लागि पनि गाह्रो थियो, अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन कि भन्ने अपेक्षा गरेका छौँ ।”
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सबै नागरिकलाई घर–घरमा स्वच्छ खानेपानीको सुविधा दिने गरि काम गरि रहेको बताउनुभयो । अधिकांश गाउँ बस्तीमा ‘एक घर, एक धारा’ निर्माण भएर संचालनमा आएको भन्दै बाँकी रहेका बस्तीमा पनि गाउँपालिकाले विभिन्न संस्थासँग सहकार्य गरेर पानी पु¥याउने काम गरि रहेको बताउनुभयो । उक दशक अगाडिसम्म धेरै गाउँमा सार्वजनिक धारोबाटै पानी उपभोग गर्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै पछिल्लो समय त्यो समस्याको अन्त्य भएको उहाँको भनाइ छ ।