डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकाले एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ । गाउँपालिकाले एकल महिलालाई आयआर्जनसँग जोड्न पालिका भरका २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको हो । मौरीसहितको घार पाएपछि महिलाहरु खुसी भएका छन् । गाउँपालिकाले निसीखोलाबाट रु तीन लाखमा घर खरिद गरि वितरण गरेको हो ।
एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनका लागि सिप सिकाएर मौरी र घार वितरण गरिएको हो गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो । सिप सिकेर व्यवसाय गर्ने हरेक नागरिकले पालिकाले अनुदान लगायक प्राबिधक सहयोग गर्दै आएको उहाँको भनाइ छ । तमानखोला क्षेत्र मौरीपालका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एक÷एक घार उपलब्ध गराएको भन्दै व्यवसायिक रुपमा गर्दै गए थप मौरी र घार सहयोग गर्ने उहाँले बताउनुभयो ।
“एकल महिलाई यस वर्ष सिप सिकाएर व्यवसायसँग जौडौ भन्ने हिसाबले मौरीपालन सम्बन्धी तालिम दियौँ र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ, धेरैले चासो पनि दिनुभएको छ, यस वर्ष कम बजेट रहेको हुँदा थोरै घार दियौँ, आगामी वर्ष बजेट बढाएर थप सहयोग गर्ने योजना छ,” उपाध्यक्ष छन्त्यालले भन्नुभयो – “हामीहरुले सिप सिकाउने हो, दक्ष बनाउने हो, उहाँहरुले व्यवसायिक रुपमा मह उत्पादन गर्न थाले अरु सहयो गर्दै जाने छौँ ।”
तमानखोला गाउँपालिका–६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाई खर्च जुटाउने योजना भएको बताउनुभयो । गाउँमा कुनै पनि किसिमको रोजगार नहुँदा घर खर्च चलाउन समस्या हुने गरेको भन्दै मौरीपालन तालिम लिएपछि व्यवसायिक रुपमा मह उत्पादन गर्ने सोच बनाएको उहाँको भनाइ छ । मौरीपालनका लागि धेरै खर्च नलाग्ने र झण्झटिलो पनि नहुने हुँदा आम्दानीसमेत राम्रो गर्न सकिने छन्त्याल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो –“गाउँपालिकाले मौरी पाल्नका लागि तालिम दियो, घार र मौरी पनि दिएको छ, अब यही एक घार मौरीबाट विस्तारै बढाएर धेरै बनाउने सोच बनाएको छ, मौरीको घार बढाउँदै जाने र मह पनि धेरै उत्पादन गर्ने इच्छा छ, छोराछोरीले बढ्दै छन्, उनीहरुको खर्च व्यवस्थापन गर्न पनि गाह्रो छ, मह उत्पादन गरेर विक्री गरे भने त खर्च जुटाउन पनि सजिलो हुनेछ ।”