आदर्श सञ्चार, बागलुङ
सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित बागलुङमा ट्राफिक सप्ताह सुरु भएको छ । आइतबार प्रभातफेरी तथा लामो दुरीका यात्रुवाहक गाडीमा स्टिकर टाँस ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ ।
सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले युवा पुस्ताले ट्राफिक नियमको सही पालन गरे दुर्घटना न्यूनिकरण हुने बताउनुभयो । पैदल यात्रुले पनि सडकको नियम पालना गर्नु पर्नेमा थापाले जोड दिनुभयो ।
जिल्लामा साँघुरा तथा अप्ठ्यारा सडकका कारण पनि दुर्घटना हुने गरेको उहाँको भनाइ छ । प्रमुख थापाले ट्राफिक प्रहरीले चालक र आम नागरिकलाई सचेत बनाउनु पर्ने भन्दै नागरिक पनि जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङमा बजारमा अव्यवस्थित रुपमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समस्या आएको बताउनुभयो । बजारवासीले दिनभर अनावश्यक रुपमा सडकमा मोटरसाइकल लगायतका साधान पार्किङ गर्दा यात्र गर्न असहज हुने गरेको उहाँको भनाइ छ ।
सप्ताहमा ट्राफिक जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने चोक–चोकमा स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाई बुझाइ गर्ने लगायतका कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख गंगाराम विकले बताउनुभयो ।
अव्यवस्थित पार्किङ हटाउने, धुँवा धुलोबाट बच्न मास्क वितरण गर्ने स्टिकर टाँस गर्ने, जेव्राक्रस नभएको स्थानमा बाटो काट्न सिकाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण लगायतका कार्यक्रम ट्राफिक सप्ताहमा तय गरिएको छ ।
बागलुङमा चालु आर्थिक वर्षमा २१ वटा दुर्घटा हुँदा १८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । यो अवधिमा एक करोड २१ लाख ८५ हजार राजस्व संकलन भएको छ ।