आदर्श सञ्चार, बागलुङ
इमेज पीडित संघर्ष समितिले राष्ट्रिय सहकारी बैंक बागलुङको कार्यालयमा लगाएको ताला करिब दुई घण्टापछि खुलेको छ । साढे ४ बजेदेखि लगाएको ताला साढे ६ बजे मात्रै खुलेको हो । संघर्ष समितिले आइतबार सूचनाको हक माग गर्दै कार्यालय गएको टोलीले मागे अनुसारको सूचना तथा जानकारी प्राप्त नभएपछि कार्यालयका सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर बाहिरबाट कार्यालयमा ताला लगाएका हुन् ।
राष्ट्रिय सहकारी बैंकले किस्ता किस्तामा इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको घर जग्गा लिलामीको सूचना निकालेपछि पीडितहरुले त्यसबारे सूचना माग गरेका थिए । पोखरा र बागलुङको घर जग्गा यस अगाडि नै लिलाम भैसकेको छ भने बुर्तिबाङको घरजग्गाको लिलामीका लागि शुक्रबार सूचना प्रकाशित गरेको बताइएको छ ।
सूचना प्रकाशित भएको थाहा पाएपछि संघर्ष समितिले देवकुमार नेपाली, इमेज सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकबीच भएको सम्झौतापत्र, धितो जग्गाको मन्जुरीनामाको पत्र, बैंक स्टेटमेन्ट र लिलाम सूचना निर्णयको प्रतिलिपी माग गर्दै राष्ट्रिय सहकारी बैंक बागलुङको कार्यालय पुगेको थियो । सूचनाको हक खोज्दा नपाएपछि ताला लगाएको इमेज पीडित संघर्ष समितिको संयोजक डिलबहादुर कार्कीले बताउनुभयो ।
इमेज पीडितले ताला लगाएपछि राष्ट्रिय सहकारी बैंकका कर्मचारी र सेवाग्राहीसमेत भित्रै थुनिएका थिए । जिल्ला प्रशासन कार्यालयमा छलफल भैरहेकाले आफुहरुले सुरक्षा दिएर बसेका थिए । सोमबार सहकारी बैंकले दिन मिल्ने आवश्यक सूचना दिने सहमति भएपछि ताला खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
सहकारी मार्फत झण्डै दुई अर्ब बढि घोटाला गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा छन् ।