डम्मर बुढामगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको हर्मिचौर–बलेवा खण्ड कालोपत्र गरिएको छ । साढे गुल्मीको हर्मीचौरदेखि बागलुङको बलेवासम्मको ४४.४८ किलोमिटर सडक कालोपत्र गरिएको हो । तीन वर्षमा सक्ने गरि कालिका कन्स्ट्रक्सनले वि.सं. २०७९ मंसिर २६ गते जिम्मा पाएको थियो । तर निर्माण कम्पनीले म्याद सकिन छ महिना अगावै कालोपत्र गरेर सम्पन्न गरेको छ ।
आगामी मंसिर २५ गतेसम्म म्याद भए पनि निर्माण कम्पनीले तीव्र गतिमा काम गर्दा जेठमै सकिएको हो । बागलुङ खण्डमा पालुङखोलादेखि बेलावासम्मको २४.४८ किलोमिटर र गुल्मी खण्डमा हर्मिचौरदेखि पालुङखोलासम्मको २० किलोमिटर कालिका कन्स्ट्रक्सनले जिम्मा पाएको थियो । करि ४५ किलोमिटर सडक कालोपत्रका लागि निर्माण कम्पनीले रु तीन अर्ब ३३ करोडमा जिम्मा पाएको थियो । निर्माण कम्पनीले काम सम्पन्न गरे पनि सबै भुक्तानी पाउन सकेको छैन ।
उक्त कम्पनीले अझै रु ६५ करोड पाउन बाँकी छ । छ महिना अगाडिनै काम सकेपछि निर्माण कम्पनीलाई जैमिनी नगरपालिकाले सम्मानसमेत गरेको छ । निर्माण कम्पनीले ढिला सुस्ती गर्दा योजनाहरु अलपत्र पर्छन् भन्ने नकरात्मक धारणाको विकास भइरहेको सन्दर्भमा कालिका कन्स्ट्रक्सनले समय अगावै काम सकेपछि नगरपालिकाले सम्मान गरेको छ । छोटो समयमै कोरिडोर कालोपत्र भएपछि स्थानीय उत्साहित भएका छन् ।
कालिका कन्स्ट्रक्सनका ‘प्रोजेक्ट म्यानेजर’ महेश सुवेदीले यस खण्डमा कसैको अवरोध नहुँदा समयमै काम सम्पन्न गर्न सफल भएको बताउनुभयो । हर्मिचारी–बलेवा खण्डमा पर्ने गुल्मीको कालिगण्डकी गाउँपालिका, बागलुङ जैमिनी तथा बागलुङ नगरपालिकाका जनप्रतिनिधिले र स्थानीय सकरात्मक भूमिका खेल्दा समय अगावै काम सम्पन्न भएको उहाँको भनाइ छ ।
सुवेदीले भन्नुभयो – “मैले यो सडकमा काम गर्नका लागि कालीगण्डकी कोरिडोर कार्यालय पाल्पासँग सम्झौता गरेको भोलीपल्टै आएर सडकको अवस्था हेरेको थिए, यहाँको अवस्था देख्दा मैले समय अगावै काम सक्छु भन्ने लागेको थियो, आयोजना प्रमुख र जैमिनीका जनप्रतिनिधिलाई त्यस बेलै भनेको थिए, समयमै काम सक्छु भनेर, सोही अनुसार काम गर्ने तालिका बनाएर लागे, यस क्षेत्रका सबैले सहयोग गर्दा समयमै काम सकियो ।”
सडक कालोपत्र भएपछि अब भारतीय पर्यटकलाई सिधा मुक्तिनाथ पुग्न र ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तु बजारीकरणमा टेवा पुग्ने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । पछिल्लो समय जैमिनीबाट बसाइँसराइ गरेर तराई झर्नेको लर्को चलिरहेका बेला कोरिडोर कालोपत्र भएपछि गाउँमै रोकिने संभावना बढेको उहाँको भनाइ छ । कोरिडोरले बागलुङमा ठूलो संभावना बोकेर आएको शर्माले बताउनुभयो ।
“कोरिडोरले दक्षिण बागलुङलाई सिधा व्यापारीक केन्द्रसँग जोडेको छ, अझ भारत र चिनसँग पनि जोड्यो भनौँ, अब यहाँका नागरिक बसाइँसराइ गरेर अन्त जाने होइन, आफ्नै गाउँठाउँमा उद्यमी बन्नु पर्छ” उपप्रमुख शर्माले भन्नुभयो – “कोरिडोर हाम्रा लागि अवसर बनेर आएको छ, अवसरलाई सही सदुपयोग गर्ने की नगर्ने आम नागरिकले बुझ्नु पर्ने बेला आएको छ ।”
जैमिनी नगरपालिका–१ का तिलकबहादुर थापा मगरले कोरिडोरले स्थानीयको जीवनस्तर परिवर्तन गर्ने बताउनुभयो । पहिले बुटवल, भैरवाह लगायतका स्थानमा पुग्नका लागि पोखरा, स्याङ्जा घुमेर महङ्गो भाडा तिरेर जाने गरेको भन्दै अब जैमिनीबाट सिधै ४ घण्टामा पुग्न सकिने उहाँको भनाइ छ । गत वर्षसम्म ढुवानी महङ्गो हुँदा दैनिक उपभोग्य सामानलाई बढी मूल्य तिरेर उपभोग गर्नु परेको भन्दै अब सहज हुने थापा मगरले सुनाउनुभयो ।
कालीगण्डकीको कोरिडोरको बागलुङ खण्डमा कुल ३४ किलोमिटर पर्छ । जसमध्ये जैमिनी नगरपालिकामा १९.५ र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर भने कालोपत्र गर्न बाँकी छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर आयोजना १४ वर्ष अगाडि सुरु भएको थियो ।
नवलपुरको गैडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको कारिडोर बागलुङको मालढुङ्गा २४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत छोट्याई दिएको छ ।