आदर्श सञ्चार, बागलुङ
बागलुङको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना उमेर समुहका ११४ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका छ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताउनुभयो । सुरुमा सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको उहाँको भनाइ छ । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको छन्त्याल बताउनुहुन्छ ।
बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटताका बाबजुत पनि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन गर्न सफल भएको बताउनुभयो । स्थानीय तह स्थपान हुनु पूर्व तीन वटा मात्रै स्वास्थ्य चौकी हुँदा यहाँका हजारौँ नागरिकले समान्य उपचारका लागि घण्टौ धाउनु परेको भन्दै अहिले त्यो बाध्यता अन्त्य भएको उहाँको भनाइ छ । अहिले गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिन थालेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “पहिले गाउँमा बिरामी हुँदा धामी झाँक्री गर्ने चलन थियो, कमै मान्छे मात्र अस्पताल जाने गर्थे, तर अहिले त्यो अवस्था छैन, हामीहरुले बालबालिकालाई नियमित खोप लगाउनु पर्छ, बिरामी भएरपछि अस्पताल जानु पर्छ भन्ने लगायतका विषयमा जनचेतना फैलायौँ, अहिले सबै सचेत भएका छन्, तमानखोला भित्र जन्मेका सबै बालबालिकाले पूर्ण खोप लगाउन थालेका छन् भने घरमा सुत्केरी हुनेको संख्या पनि अहिले शून्य छ ।”