खेमराज गौतम, बागलुङ
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । उनिहरुले वडाको साझेदारी बजेटबाट पदमार्ग निर्माण, सिँचाई पोखरी निर्माण र सडक सोलिङ गरेका छन् । ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामाग्रीबाट एक हजार ४०० मिटर पक्की पदमार्ग तथा चार वडा सिँचाई पोखरी र ३५० मिटर सडक सोलिङ गरिएको छ ।
उनिहरुले वडा कार्यालयको साझेदारीमा विनियोजन गरेको बजेटमा पदमार्ग सोलिङ, पदमार्ग ढलान, सडक स्तरोन्नति तथा सिँचाइ पोखरी निर्माण गरेका छन् ।
नगरपालिकामा गत आर्थिक वर्षमा सुचिकृत २३८ जना बेरोजगारी मध्ये ५३ जनाले एक सय दिनको रोजगारी मात्रै पाएका छैनन् छ वटा योजना प्रभावकारी ढंगले सम्पन्न गर्न थालेका छन् ।
बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र्र गौतमका अनुसार यस वर्ष छ योजनाबाट तीन वटा सिँचाई पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ । गौतमका अनुसार बागलुङ नगरपालिका–३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने २५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाई पोखरी निर्माण गरिएको छ ।
यसमा ज्याला रोजगार कार्यक्रम मार्फत भुक्तानी गरिने छ भने आवश्यक निर्माण सामाग्री वडा कार्यालयको रु. पाँच लाख रकमबाट खरिद गरिएको हो ।
यस्तै बागलुङ नगरपालिका–५ मालिकाको ठूलाखोलादेखि बाँघबोटे मालिकाको २५० मिटर पदमार्ग ढलान तथा मौरी भीर आँटीघर पल्ला खोरिया पोखरी निर्माण गरिएको थियो । जसमध्ये वडा कार्यालयल एक लाख ५० हजारको निर्माण सामाग्री खरिद गरेको थियो ।
यस्तै नगरपालिकाको ८ नम्बर वडामा ओख्रेनी चितेपानी देउपुजा कोट मन्दिर सम्मको ४५० मिटर पदमार्ग ढलान गरिएको छ । वडाकार्यालयले रु. पाँच लाखको बजेटमा पदमार्ग ढलानमा निर्माण सामाग्री खरिद गरेको हो ।
यस्तै बागलुङ नगरपालिका–१३ मुसराबारी, सुन्दर बस्ती, ढाँड चौतारा पुग्ने ३५० मिटरको पदमार्ग ढलान गरिएको छ भने वडाले मिर्नाण सामाग्रीमा तीन लाख खर्चेको छ । यस्तै नगरपालिकाको १४ नम्बर वडाको करिडोर कोलपाटा सडकको ३५० मिटर सडक वडाको चार लाख साझेदारीमा सोलिङ गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नगरपालिका गत वर्ष २३८ जना अघिल्लो सुचिकृत भएको ५३ जनाले १०० दिनको रोजगारी पाएका हुँन् भने अन्यले आगमी दिनमा रोजगारी पाउनेछन् । उनिहरुले एक दिनको रु.६९६ अदक्ष बराबरको ज्याला पाउनेछन् ।
ज्याला भुक्तानीका लागि नगरपालिकामा रु. ३७ लाख बजेट प्राप्त भएको थियो । गाउँमा रोजगारी पाउदा सहज भएको बागलुङ नगरपालिका–८ सिगानाको दिवा परिवारले बताउनुभयो । उहाँले आफू पदमार्ग निर्माणमा खटिएको बताउदै रोजगारीबाट घरखर्च चल्न थालेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ज्याला भुक्तानी र स्थानीय वडाले साझेदारीमा निर्माण सामाग्री खरिद गर्दा दीगो विकास गर्न सकिने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ढुङ्गा सोलिङ गरेको ठाउँमा वडाको बजेटले ढलान गर्दा दीगो र प्रभावकारी देखिएको बताउनुभयो । यस वर्ष बागलुङ नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रु.३७ लाख ज्याला भुक्तानी गरिने छ ।