आदर्श सञ्चार, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको छन् । बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु र घाइते हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार कार्य भइरहेको उहाँको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताउनुभयो ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेकाृ उद्धार गरि बुर्तिबाङ प्रादेशिक अस्पतालमा पठाइएको छ भने दुई वटा शव निकाल्न थालिएको छ ।
उपप्रमुख कायतले भन्नुभयो – “हामीहरु घटना स्थलमा आइ पुगेका छौँ, अहिले घाइतेको उद्धार गरि प्रहरी र नगरपालिको गाडीमा अस्पताल हस्पिटल पठाइ रहेका छौँ, दुई जनाको मृत्युनै भएको छ, शव निकाल्ने प्रयास भइरहको छ ।”