खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ जिल्लालाई पूर्णखोप घोषाणा गर्नुभएको थियो ।
जिल्लाका १० वटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि शुक्रबार एक समारोहका बीच जिल्लालाई पूर्णखोप घोषण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
शुक्रबार जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको एक समारोहमा गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्ण प्रसाद पाठकले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र प्रदेश जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले जिल्लाका तीन हजार ९८ बालबालिकालाई पूर्ण खोप लगाएर बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी दिनुभयो ।
चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका जेठ २६ गते सम्म पूर्णखोप घोषणा भएपश्चात शुक्रबार जिल्लालाई पूर्ण खोप घोषणा गरिएको हो । बागलुङ जिल्लामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन हजार ५५२ जनालाई नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना उमेर समुहका तीन हजार ९८ जनालाई १३ वटा रोग विरुद्धको खोप दिएपछि बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित बनेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमरख घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
सापकोटका बागलुङ जिल्लालाई २०७५ साल असार २५ गते पहिलोपटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषण गरिएको थियो । खोप नियमित प्रकृया भएकाले प्रत्यक वर्ष घोषणा र दिगोपन सुनिश्चित गर्न आवश्यक हुन्छ । शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले खोप अभियान दिगोपना महत्वपूर्ण विषय भएकाले यसलाई कायम राख्न स्थानीय सरकारले समन्वय गर्नुपर्ने बताउनुभयो । पूर्णखोप एक पटक मात्रै घोषणा गरेर नहुँने भन्दै निरन्तरताका लागि वार्षिकरुपमा कार्यक्रम गर्न आवश्यक रहेको छ ।
उहाँले धौलागिरि प्रादेशिक अस्पताललाई एक सय शैयामा स्तरोन्नति गरिएसंगै आगमी आर्थिक वर्षदेखि नर्सिङ विषयको पढाई सुरु गरिने बताउनुभयो ।
धौलागिरि अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने प्रदेश सरकारको दीर्घकालिन योजना रहेको पाठकले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा.विश्वबन्धु बगाले, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रदेश खोप अधिकृत एकनारायण लम्साल र पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक अमर बहादुर थापाको अध्यक्षता धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीको स्वागत तथा जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।