खेमराज गौतम, बागलुङ
निर्माण व्यवसायीको चरम लापारर्वाही बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गका देखिएको छ । दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डको २६ किलोमिटर नौ वर्ष वित्दा समेत सम्पन्न नभएको हो ।
लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष वित्दा समेत अझै १२ किलोमिटर खण्ड अलपत्र जस्तै बनेको छ ।
बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टा छुट्टै खण्ड बनाएर अर्थिक वर्ष २०७२÷७३ सालमा दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । उक्त दुई खण्ड मध्ये बिहुँ–घोडाबाँधेको १३ किलोमिटरको ठेक्का गत वर्ष तोडेर नयाँ ठेकेदारसंग संझौता भएपनि कामले गति लिन सकेको छैन ।
यस्तै बागलुङ बिहुँ खण्डको १३ किलोमिटर मध्ये जम्मा ९ किमि सडक कालोपत्र भएपनि अन्य सडक कालोपत्र हुन नसकेको हो । बागलुङ बिहुँ खण्डको चार किलोमिटर सडक कालोपत्रका लागि तीन महिना अघि सडकमा हालेको विटामिन पानीले बगाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यलयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो ।
“निर्माण व्यवसायीको चरम लापरर्वाही छ, बागलुङ बिहुँ खण्डको १३ किमि सडक पाँच पटक म्याद थप गर्दा समेत सकिएन, अहिले निर्माण व्यवसायी कार्यस्थलमा छैन, काम सम्पन्न भइसकेको स्थानमा समेत पुन मर्मत गर्न आवश्यता छ” मिश्रले भन्नुभयो “बिहुँ–घोडाबाँधे खण्डको १३ किमि सडक पाँचौ पटक म्याद थप्दा समेत सम्पन्न नभएपछि ठेक्का तोडेका थियौं, नयाँ निर्माण व्यवसायीको प्रगति समेत कछुवा गतिमा छ, दुई वर्षमा सक्ने भनेको ठेकका एक वर्षमा १० प्रतिशत मात्रै काम भएको छ ।”
२६ किलोमिटर मध्ये कालोपत्र सम्पन्न भइसकेको १४ किलोमिटर सडकमा समेत खाल्टाखुल्टी परेको छ भने थुप्रै संरचना बनाउन आवश्यक देखिएको मिश्रको भनाई छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत यति लामो सयमसम्म रुग्ण भएको योजना बागलुङ खण्डकै रहेको आयोजना कार्यालयको भनाई छ ।
पाँच पटक म्याद थप्दा समेत ठेक्का सम्पन्न नभएको बागलुङ बिहुँ खण्डको दुई किलोमिटरमा तीन महिना अघि विटामिन छरेर निर्माण व्यवसायी फर्केर आएको छैन । विटामिन सहितको ग्राभेल पानीले क्षति बनाएको ।
“पछिल्लो पाँचौ पटकको ठेक्का सम्झौताको म्याद समेत सकिएको चार महिना भयो, निर्माण व्यवसायी म्याद थप गर्न समेत आएको छैन, कालोपत्र नसकै भुक्तानी गर्न मिल्दैन” मिश्रले भन्नुभयो “निर्माण व्यवसायीले काम नगर्दा बजेट समेत फ्रिज जाने अवस्था छ, नयाँ ठेक्का लगाएको बिहुँ घोडाबाँधे खण्ड एक वर्षमा १० प्रतिशत काम हुँदा आयोजनाको चालु आर्थिक वर्षको बजेट अधिकांश फिर्ता पठाउने तयारी छ ।”
बागलुङ–बिहुँको १३ किलोमिटर खण्ड २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाईसंग दुई वर्षमा सक्नेगरी रु. ४३ करोड ६५ लाखमा सम्झौता भएका ठेक्का पाँचौ पटक म्याद थप्दा समेत ७८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । ठेकेदारले ३४ करोड ३१ लाख भुक्तानी लिइसकेको छ ।
साढे दुई करोड भक्तानी लिन बाँकी भएकाले काम गर्न नसकिएको निर्माण व्यवसायी राजु गौतमले जानकारी दिनुभयो । उहाँले कालोपत्र गर्नको लागि छरेको विटामिन पानीले बगाएपछि झनै समस्या भएको बताउनुभयो ।
बिहुँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक सात आठ वर्ष वित्दा समेत कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ÷रजिाल भगवती जेभीसंग रु. २१ करोड ४९ लाखमा ठेकका सम्झौता गरिएको थियो । उक्त खण्डको एक वर्षको प्रगति जम्मा १० प्रतिशत मात्रै भएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।