डम्मर बुढा मगर, बागलुङ
बागलुङको दूर दराजसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुग्न थालेपछि बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप पाउन थालेका छन् । जिल्लाका दश वटै पालिकाले विकट ठाउँहरुमा स्वास्थ्य संस्था स्थापना गरि बालबालिकालाई सम्पूर्ण खोप दिन थालिएको हो ।
यस वर्ष बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरि छ हजार ६४७ जना बालबालिकाले सम्पूर्ण खोप पाएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो । बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनु पर्ने १३ वटा रोगहरु विरुद्धको सबै खोप पाएको उहाँको भनाइ छ ।
बागलुङलाई वि.सं.२०७५ साल आषाढ २५ गते पहिलो पटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । त्यसपछि हरेक वर्ष पूर्णखोप सुनिश्चित जिल्ला तथा दिगोपना घोषणा गरिदै आएको प्रमुख सापकोटाले बताउनुभयो । यस वर्ष पनि गत शुक्रबार पूर्णखोप सुनिश्चित जिल्ला तथा दिगोपना घोषणा गरिएको हो । सात वर्ष अगाडिसम्म जिल्लाको दूर दराजसम्म स्वास्थ्य संस्थाको पहुँच नहुँदा केही बालबालिका खोप लगाउनबाट वञ्चित हुने गरेकोमा अहिले त्यो अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।
प्रमुख सापकोटाले भन्नुभयो – “बागलुङका अहिले हरेक कुनामा स्थानीय पालिकाले स्वास्थ्य संस्था स्थापना गरेर बालबालिकालाई खोप दिने र अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्, बालबालिकालाई दिने नियमित खोप बाहेक यस वर्ष हामीहरुले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप पनि लगाइ सकेका छौँ, विद्यालय जाने ६ देखि १० कक्षासम्मका ११ हजार ६२ छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका ११ किशोरीहरु गरी जम्मा ११ हजार १७७ जना (९८ प्रतिशत)लाई उक्त खोप दिएका छौँ ।”
हाल बागलुङ जिल्लामा २०५ वटा खोप केन्द्रबाट तथाा २१५ खोप सेसनमार्फत प्रत्येक महिना खोप तथाा सरसफाई प्रवर्धन सेवा प्रदान गरिदै आइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो ।
उहाँका अनुसार बागलुङ नगरपालिकाका एक हजार १२२ जना, जैमिनी नगरपालिकाका ७७२ जना, गलकोट नगरपालिकाका ७५४ जना, ढोरपाटन नगरपालिकाका एक हजार ६२ जना, बडिगाड गाउँपालिकाका ७९५ जना, निसीखोला गाउँपालिकाका, ८२९ जना, तमानखोला गाउँपालिकाका २७७ जना, ताराखोला गाउँपालिकाका १९३ जना, काठेखोला गाउँपालिकाका ४३४ जना, बरेङ गाउँपालिकाका ६४५ जना बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप पाएका छन् ।
कोही पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नराख्नका लागि गाउँ तथा नगरपालिकाबाट स्वास्थ्यकर्मी खटिने गरेको उहाँको भनाइ छ । स्थानीय तहलाई प्रदेश जनस्वास्थ्य कार्यालयबाट बालबालिकामा खोपको पहुँच बढाउनका लागि सहजीकण गर्ने गरेको खत्री बताउनुहुन्छ ।