अमृत बास्कुने, म्याग्दी
जानकारी तथा योजना बिनै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेश अस्पताल बेनीको बिहीबार अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
जिल्लामा कसैलाई पनि जानकारी नदिइकन उहाँले निकै आकस्मिक तबरले अनुगमन तथा निरीक्षण गर्नुभएको हो । बेनी आउने कार्यक्रम तय भएको थियो तर अस्पताल अनुगमनको कुनै योजना र जानकारी थिएन तर आएको मेसोमा अनुगमन गरेर जानकारी लिउँ भनेर अस्पतालको अनुगमन गरेको मन्त्री पाठकको भनाई छ ।
कुनै पूर्व जानकारी भएको मन्त्रीको आकस्मिक अनुगमनको क्रममा अस्पताल प्रशासन र स्वास्थ्यकर्मी अकमक्क परेका थिए । बेनी अस्पताल पुग्नुभएका मन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मीलाइ भेटेर कामको अवस्था र अस्पतालको बारेमा जानकारी लिनु भएको थियो । त्यस्तै मन्त्री पाठकले बिरामी तथा उनीहरु कुरुवालाई भेटेर अस्पताल तथा स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहारका बारेमा जानकारी लिनु भएको थियो ।
चिकित्सक र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा सेवाग्राहीसँग राय लिनुका साथै अस्पतालको बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, प्रस्तुती सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निःशुल्क औषधि लगायतको अनुगमन गर्नुभएको थियो ।
उहाँले बेनी अस्पतालमा पछिल्लो महिना देखि खाली रहेको स्त्री तथा प्रसुती रोग बिशेषज्ञ(गाइनोलोजिष्ट)को तत्काल व्यवस्थापनका लागि आफू लागेको बताउनु भएको थियो । बेनी अस्पतालमा विगतमा दैनिक पाँच देखि १० जना सम्म सुरक्षित सुत्केरी हुने गरेकोमा अहिले गाइनोलोजिष्ट नहुँदा प्रसुति सेवा ठप्प प्राय भएकोले त्यसलाई मध्येनजर गर्दै डाक्टर व्यवस्था गर्ने बताउनुभयो ।
मन्त्री पाठकले जिम्मेवारीमा रहेका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधिको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राख्नुभएको थियो ।
उहाँले निमित्त मेडिकल सुपरिटेण्डन्ट डा.अनुषा मानन्धर, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यवाहक जिल्ला समन्वय अधिकारी डिलकुमारी खत्रीलाई सेवाग्राहीका गुनासा कम आउने गरी व्यवस्थित तवरले सेवा दिन भन्नुभएको थियो ।मन्त्री पाठकले भन्नुभयो, ‘स्वास्थ्य सेवाको स्तर उन्नतिको लागि प्रतिबद्ध भएकोले गण्डकी प्रदेशका १३ अस्तपालको स्तरोउन्नती गरिएको छ ।’ उहाँले गण्डकी प्रदेश भित्रका स्वास्थ्य संस्थाले ६६ करोड बढी वार्षिक आम्दानी गर्ने र झण्डै ६० करोड खर्च हुने बताउँदै स्वास्थ्य संस्थाहरु आत्मनिर्भर जस्तै रहेको तर्क गर्नुभएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अस्पताललाई आवश्यक भौतिक पूर्वाधार निर्माण आवश्यक जनशक्ति तथा प्राविधिक सामग्रीहरूहरुको लागि आगामी दिनमा आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । मन्त्री पाठकले बेनी अस्पतालको निर्माणधिन भवनको समेत अनुगमन गर्नुभएको थियो ।