आदर्श सञ्चार, म्याग्दी
युवाहरुको क्षमता र नेतृत्व विकासका लागि सक्रिय रहँदै आएको जेसीसले समुदायको सरसफाइका लागि फरक कार्य गरेको छ । सफा र स्वच्छ समाज निर्माणमा सहयोगी बन्ने हेतुले म्याग्दी जेसीजले शनिबार म्याग्दीको सदरमुकाम बेनी बजारमा फोहोर संकलन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
सर्वाजिनक स्थानलाई फोहोर रहित बनाउन सबैको सहभागिता हुनुपर्छ भन्ने चेतनाको विकास सबैमा हुनु पर्छ भन्ने सन्देश सहित आयोजित प्रतियोगितामा बेनी नगरपालिका वडा नं–७ महारानीथान समुहकी सिर्जना शर्मा र मिना जिसीको समुहले पहिलो स्थान हासिल गरेका हुन् । बेनी बजारको कालीपुल देखि शुरु भएको फोहोर संकलन दौडमा ४२ दशमलब ७२ केजी फोहोर संकलन उक्त टोली विजयी भएको थियो । त्यसैगरी बिटी चोककी बिनम थजाली तथा एन्जल थजालीले समूहले ४२ दशमलब ४१ केजी फोहोर संकलन गर्दै दोश्रो र जिल्ला फुटबल संघको तर्फबाट प्रजिया कार्की र रिधिमा भट्टचनले ३३ दशमलब ५१ केजी फोहोर संकलन गरी तेश्रो हुनुभएको म्याग्दी जेसीजका महासचिव देवेनद्र घिमिरेले जानकारी दिनुभयो । बेनी बजार क्षेत्रमा जोडीजोडी बनाएर फोहोर संकलन गरेपछि संकलित फोहोरको तौल गरेर विजयी घोषणा गरीएको थियो ।
फोहोर संकलन दौडका विजेतालाइ भित्ते घडी, करुवा र सरसफाई साम्रागी प्रदान गरिएको थियो । कालिपुल बसपार्कबाट सुरू भएको फोहोर संकलन दौड बेनीबजारका विभिन्न टोल हुदै बिरेन्द्रचोकमा पुगेर समापन भएको थियो । दौडमा २ जनाको जोडी बनाएर ४५ मिनेटको अवधिमा बेनीबजारको सार्वजनिक स्थानबाट ३ सय केजी फोहोर संकलन गरिएको म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्तीले बताउनुभयो । विभिन्न संघ संस्था, सुरक्षा निकाय तथा विद्यार्थी गरी २० टिमले फोहोर संकलन प्रतियोगितामा सहभागिता जनाएका थिए । समाजलाई स्वच्छ बनाउने अभियानका बारेमा सचेतना फैलाउन प्रतियोगिताको आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।