आदर्श सञ्चार, बागलुङ
ताराखोला गाउँपालिका कार्यालयको आयोजना पालिका भित्र सञ्चालित सहकारीका पदाधिकारी तथा व्यवस्थापन प्रमुखहरुका लागि तीन दिने सहकारी व्यवस्थापन तालिम सोमबारदेखि सुरु भएको छ ।
पालिका अन्तरगत सञ्चालित सहकारीहरुको अवस्था पहिचान, संस्थाका पदाधिकारी तथा व्यवस्थापन प्रमुखहरुको क्षमता अभिवृद्धि गरी सहकारीलाई प्रभावकारी सञ्चालनमा सहयोग पु¥याउने उदेश्यका साथ तालिम आयोजना गरिएको पालिकाले जनाएको छ ।
तालिमको शुभारम्भ गर्दै ताराखोला गाउपालिकाका उपाध्यक्ष भीम बहादुर रोकाले गाउँमा झोलीमा निष्क्रिय रहेको पैसालाई परिचालन गरी आयआर्जनमा सहयोग पु¥याएको सहकारी क्षेत्रलाई केही सहकारीको मर्म विपरित काम गर्ने सहकारीहरुका कारण चुनौती बढेको बताउनु भएको छ ।
सहकारीका नाममा भएका दुरुपयोगको नियन्त्रणका लागि प्रभावकारी नियमनका साथै व्यवस्थापनमा देखिएका कमजोरीलाई सच्याउदै सहकारीमार्फत समाज रुपान्तरण संभव छ भन्ने सन्देश प्रवाह गर्न सहकारीकर्मीहरु यतिबेला थप क्रियाशिलताका साथ लाग्नु पर्नेमा उहाँको जोड थियो ।
सहकारीलाई सुशासनयुक्त बनाउन लेखा सुपरीवेक्षण समितिलाई सक्रिय बनाउन उहाँले सुझाव दिनुभयो । ताराखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भद्र बहादुर घर्तिले सहकारीप्रति सदस्यहरुको विश्वास कायम राख्नका लागि जिम्मेवारीमा रहेका पदाधिकारीहरु जवाफदेही बन्नु पर्ने बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा सहकारी व्यवस्थापन, नेतृत्व विकास, योजना तथा कार्यक्रम निर्माण, ऋण परिचालन, जोखिम पहिचान र न्यूनिकरण लगायतका विषयमा सहजीकरण गरिने पालिकाका सहकारी शाखा प्रमुख उदित थापाले जानकारी दिनुभयो ।
तालिममा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सल्लाहकारहरु राम बहादुर जि.सी. र तेजेन्द्र थापा, डा.रसिक सुवेदी, सहकारी शाखा प्रमुख उदित थापाले सहजीकरण गर्नु भएको छ ।