आदर्श सञ्चार, बागलुङ
‘प्रतिगामी खतरा बिरुद्ध संघर्ष गरौ,गणतन्त्रको रक्षा गरौं’ नाराका साथ राष्ट्रिय जनमोर्चाले बुर्तिबाङमा विरोधसभा सम्पन्न गरेको छ ।
बैशाख २० गते देखि २६ गते सम्म सञ्चालित पालिका केन्द्रीय संघर्षको कार्यक्रम अन्तरगत बुधबार बुर्तिबाङ बजारमा बिरोध सभा सम्पन्न गरेको हो । सभालाई संबोधन गर्दै कार्यक्रमका प्रमुख बक्ता राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले गणतन्त्र माथि खतरा बढ्नु राजावादी शक्ति मात्रै जिम्मेवार नभई अहिले सम्म सत्तामा रहेर नागरिकको चाहना अनुसार काम गर्न नसक्नु, भ्रष्टाचार बढ्दै जानु, नागरिकहरुले सुशासनको प्रत्याभूति हुने गरि सुधार गर्न नसक्नु रहेको बताउनुभएको छ । उहाँले देशका सत्तासिन पार्टीहरु आफुलाई सिद्धान्तमा गणतन्त्रवादी घोषणा गरेपनि शासन गर्ने कार्यशैली र व्यवहारले गणतन्त्रप्रति जनताको विश्वास घट्दै गएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गा खरेलले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेकपा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक केसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, रक्तिम साँस्कृतिक परिवार बागलुङका अध्यक्ष सविन अग्रेजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हरुको आतिथ्यता रहेको थियोे ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष दिपक थापाको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालन र जिल्ला सदस्य थमन घर्तीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भने यस सप्ताह व्यापी कार्यक्रमको समापन बैशाख २६ गते बागलुङ बजारमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी प्रमुख आतित्थ्यतामा सम्पन्न हुनेछ ।