आदर्श सञ्चार, म्याग्दी
बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले एकल महिलाप्रति समाजमा रहेको विद्यमान कुरीतिको अन्त्य हुनु पर्नेमा जोड दिइएका छन् । सामाजिक विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन गरी आर्थिक सशक्तिकरणका लागि आत्मबल बढाउन पर्नेमा उनीको भनाइ छ ।
एकल महिला तथा सशक्तीकरण केन्द्र बेनी म्याग्दीको समन्वय तथा सहजीकरणमा आयोजित नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रममा एकल महिलालाई भत्ताको सुविधाले मात्रै समाजमा स्थापित हुन नसक्ने बताइएको थियो । उक्त कार्यक्रममा भत्ताले मात्रै नभएर क्षमता अनुसारको अवसरमा समेत उत्तिकै प्राथमिकता दिनुपर्ने बताइएको थियो ।
बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने लामिछानेले एकल महिलाले एक्लै संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्यका लागि पालिकाबाट विभिन्न आयमुलक तालिम तथा साझेदारी निकायसँगको समन्वयमा काम भइरहेको बताउनुभयो ।
तालिममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुबेदीले एकल महिला लक्षित कार्यक्रममार्फत क्षमता विकास, आत्मनिर्भर हुने कार्यक्रमहरु प्रस्ताव गरिएको बताउनुभयो ।
एकल महिला तथा सशक्तीकरण केन्द्रकी अध्यक्ष देबी केसीले म्याग्दीका सबै स्थानीय तहले एकल महिलालाई बजेट विनियोजन गरी औषधि उपचार, उद्धार र राहत पुनःस्थापना, कानुनी सहायता, सामाजिक मर्यादा अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम एवं एकल महिलाको हकहित संरक्षण र संवद्र्धनका लागि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
तालिमा ६ वटै स्थानीय तहबाट ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । तालिमको अध्यक्षता केन्द्रकी अध्यक्ष केसी, स्वागत सहकोषाध्यक्ष सोनी शर्मा र सञ्चालन सचिव हिरा पौडेलले गर्नुभएको थियो ।