आदर्श सञ्चार, म्याग्दी
जिल्ला प्रशासन कार्यालयबाटै वितरण गर्दा थन्केर बसेका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण थालिएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमबाट थालिएको परिचयपत्र वितरण शनिबार ३ नम्बर वडा मुनामा भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
प्रशासन कार्यालयमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्रलाई वडाबाटै वितरण थालेर पहिलो चरणमा धवलागिरी गाउँपालिका ७, ताकमबाट सुरू गरेर शनिबार भने मुनामा बितरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीको राष्ट्रिय परिचयपत्र शाखाकी कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो । विगतमा सदरमुकाम स्थीत जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचपत्रका लागि विवरण दिनु भएर कार्ड आइपुगेको तर लिन नजानुभएकाहरुको कार्ड वितरण थालिएको हो ।
परिचयपत्र वितरणका लागि स्थानीय तहका जनप्रतिनिधिले समन्वय गर्नुभएको छ खत्रीले भन्नुभयो । स्थानीयतहबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको वडा नम्बर ३ का अध्यक्ष देविन्द्र रोकाले बताउनुभयो । वडामै वितरणका लागि समन्वय गरेपछि राष्ट्रिय परिचयपत्र लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकाले स्थानीयलाई सहज भएको उहाँको भनाई छ ।
राष्ट्रिय परिचयपत्र वितरण शनिबार मुनामा भएको छ भने आइतबार मुदी, सोमबार लुलाङमा हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । जिल्लाका ६ स्थानीय तहमध्ये बेनी नगरपालिका बाहेकका पाँच वटै गाउँपालिकामा वितरणको योजना बनाएको भएपनि जनशक्ती र उपकरणको अभावले गर्दा अहिले धवलागिरी गाउँपालिकामा वितरण थालिएको प्रजिअ ढकालको भनाई छ । ‘हामीले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाएका छौ’ उहाँले भन्नुभयो ।
राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्ने तर पछि सम्पर्कमै नआउने र परिचयपत्रको बारेमा चासै नलिएको जस्तो गर्दा जिल्ला प्रशासनमा २१ हजार भन्दा बढी परिचयपत्रको कार्ड थन्किएको थियो ।
जिल्ला प्रशासनमा हालसम्म करिब ३० हजार राष्ट्रिय परिचयपत्र तयार भएको छ । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्ने हुँदा पनि कार्ड थन्किने गरेको छ । अरुलाई कार्ड लिनका लागि पठाउने गरे पनि सम्बन्धितको औंठा छाप बिना कार्ड दिन नमिल्ने भएको हुदा पनि थन्किने गरेको हो ।