आदर्श सञ्चार, बागलुङ
बागलुङमा सम्पन्न प्रथम एसइइ कप फुटसल प्रतियोगिताको उपाधि म्याग्दीको बेनी सामुदायिक माध्यमक विद्यालयले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुललाई पेनाल्टी सुटआउटमा २–३ गोलले पराजित गर्दै बेनी सामुदायिक माविले उपाधि चुमेको हो ।
खेलमा पहिलो हाफ चिल्ड्रेन लाईफले अग्रता लिए पनि दोस्रो हाफमा बेनीले उत्कृष्ट पुनरागमन गर्यो । फाइनल खेलमा बेनी सामुदायिक माविका विपिन कार्कीले ह्याट्रिकसहित चार गोल गरेभने सुगम पाइजाले एक गोल गरेका थिए ।
चिल्ड्रेन लाईफको लागि निशान बुढाले ह्याट्रिक गरेभने सक्षम श्रेष्ठ र विशाल थापाले एक–एक गोल गरे । निर्धारित समयमा खेल ५–५ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा चिल्ड्रेन लाईफका सक्षम श्रेष्ठको प्रहार बेनीका गोलरक्षक अमित बुढाले बचाए ।
उपाधि जितेको बेनी सामुदायिक माविले नगद १५ हजार रुपियाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता चिल्ड्रेन लाईफले नगद ८ हजार रुपियाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र गर्यो ।
चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा बागलुङ र म्याग्दीका १० विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बेनी सामुदायिकका अमित बुढा घोषित हुनुभयो । यस्तै उत्कृष्ट गोलरक्षक बेनीका सन्दिप केसी र प्रतियोगितामा १० गोल गर्नुभएका चिल्ड्रेन लाइफका निशान बुढा मगर सर्वाधिक गोलकर्ता घोषित हुनुभयो।