आदर्श सञ्चार, म्याग्दी
गलेश्वर नजिकै ड्याम निर्माण गरेर कालीगण्डकी सुकाएर निर्माण गर्न लागिएको बेनी–कालिगण्डकी जलविद्युत आयोजना निर्माण गर्दा धार्मिक, सांस्कृतिक तथा मानविय संकट ल्याउने सरोकारवालाले धारणा राखेका छन् । बेनी नगरपालिकाले आयोजना गरेको बेनी कालीगण्डकी जलविद्युत आयोजना सम्बन्धमा सर्वदलीय तथा सर्वपक्षीय छलफलमा उक्त धारणा राखिएको हो । हालै विद्युत विकास विभागले बेनी कालीगण्डकी जलविद्युत आयोजना सञ्चालनका लागि सूचना आह्वान गरेपछि पुनः अहिले स्थानीय त्रासमा छन् ।
बेनी गलेश्वर सडक खण्ड अन्तरगत पर्ने ठूलो पहीरो भन्ने स्थानमा कालीगण्डकी नदीमा बाँध राख्ने गरी ५०.५ मेगावाट क्षमताको विद्युत आयोजनाको प्रक्रिया रोक्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक संघसंस्था एकठाउँमा उभिएर संघीय सरकारको ध्यानार्कषण गराउने निर्णय भएको भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रस्तावित मोडालिटीमा काम हुनैसक्दैन भन्ने निस्कर्ष सहित थप प्रक्रिया अगाडी बढेमा कानुनी उपचार खोज्ने गरी निर्णय भएको उहाँको भनाई छ ।
सर्बदलीय सर्वपक्षीय भेलामा प्रतिनिधिसभा सदस्य गोविन्द पौडेल, रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिकी उप प्रमुख दिलकुमारी खत्री, नेपाली कांग्रेसका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष छवि आचार्य, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष बिरबहादुर थापा लगायतले आयोजना कुनै पनि हालतमा अगाडी बढ्न नहुनेमा जोड दिनु भएको थियो । राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले आफ्नो पार्टीको तर्फबाट आधिकारीक रुपमा जलविद्युत आयोजना निर्माण गर्न नहुने भन्दै पत्र बेनी नगरपालिकालाई दिने भएका छन् ।
भेलामा सहभागी सर्वसाधारणहरुले कालीगण्डकी सभ्यता तथा धार्मिक आस्थालाई नामेट पारेर कसैले पनि ब्यापार गर्न नहुने तर्क गर्नुभएको थियो । हरेक मानिसको जन्म तथा मृत्यु संस्कार पनि कालीगण्डकी सँगै जोडीएको अवस्थाले गर्दा नदिको पानीलाई सुरुङ भित्र हालेर बेनीमा पानी देख्नै नपाउने अवस्था आउन नहुने बताइएको थियो । म्याग्दी र कालीगण्डकी नदिको संगम भएकोले बेनी भएको हो र कालीगण्डकी सुक्यो भने बेनी नामै नरहने हुँदा पानी बग्नै पर्ने हरिप्रसाद पौडेलको भनाई थियो ।
बेनीको अस्तीत्व नै नरहने गरी कुनै पनि प्रकारको आयोजना निर्मामाण हुन नहुने एमाले अध्यक्ष बालकृष्ण सुवेदीको भनाई थियो । नेपाली कांग्रेसका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले यस अगाडी आफू नगर प्रमुख हुँदा नै यो आयोजनालाई निर्माण गर्न नदिने भनेरै निर्णय गरेर पठाएको स्मरण गर्दै अहिले पनि यो कार्यान्वनको पाटोमा कुनै हालतमा जान नहुने तर्क गर्नुभयो । गत साता सम्पनन भएको जिल्ला समन्वय समितिको १० औं जिल्लासभाले समेत अहिललाई आयोजनाको काम स्थगित गर्ने निर्णय पारित गरेको थियो ।
बेनी कालीगण्डकी जलविद्युत आयोजना गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनी नगरपालिका वडा नं ६ ठुलो पहिरो र जलजला गाउँपालिका वडा नं २ को सिमानामा बाँध निर्माण गरि तीन किलोमीटर ५३ मिटर शुरुङ मार्फत पानी पठाएर विद्युत गृहमा पुगाउने छ । आठ हजार दुई सय सात मिलियन लागत अनुमान गरिएको विद्युत उत्पादनका लागि ३६ महिना लाग्ने छ ।
बि.स २०७७ सालमा उर्जा, जलस्रोत मन्त्रालयले प्रारम्भिक सर्वेक्षण सहितका कार्यका लागि ३९ लाख ९४ हजार बजेट बिनियोजन गरेको थियो । यसका बारेमा उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले समुदायलाई असर गर्ने आयोजना बनाउन नदिने जनाउँदै थप जानकारी मन्त्रालयमा पुगेपछि लिने बताउनुभएको थियो ।
कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुँने यस क्षेत्रमा पाइने ११ प्रजातिका माछा पाइने लोप हुने छन् । त्यस मध्ये पनि ७ प्रजातिका माछा अन्तर्राष्टिय प्रकृति संरक्षण संघ (आयुसिएन)को संरक्षित सुचीमा परेका माछाहरु रहेको वातावरणीय अध्ययन प्रतिबेदनमै उल्लेख छ । २०७६ देखि सर्बे लगायतको काम थालनी भएको बेनी कालीगण्डकी जलविद्युत निर्माण हुँदा मध्यम दुरी सम्म मात्रै आवत जावत गर्ने यस क्षेत्रमा पाइने माछा लोप हुने चिन्ता पनि देखिएको छ ।