आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बागलुङ नगरपालिकाले विकास निर्माणको विषयमा पहल गर्न मागपत्र बुझाएको छ ।
माओवादीले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ बजार आउनुभएको प्रचण्ड लगायतमा माओवादीका नेतालाई नगर प्रमुख बसन्त कुमार श्रेष्ठले स्वागत संगै नगरको र समग्र बागलुङ जिल्लाको विषयमा माग पत्र प्रस्तुत गर्नुभएको थियो । स्वागत कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले समग्र बागलुङको विषयमा जानकारी गराउनुभएको छ ।
कार्यक्रममा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले समग्र बागलुङ, नगरपालिकाको विकास समेटिएको मागपत्र पढेर सुनाउनुभएको थियो । उहाँले नगरपालिकाको जग्गा व्यवस्थापन, लोकमार्ग कालोपत्र, शहिद र विपन्न परिवारको पुनस्थापन लगायतमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीको जनजागरण अभियान अब माओबादीको मात्रै नरहेको बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि विभिन्न संस्था तथा पालिकाले आफूलाई स्वागत तथा विभिन्न माग राख्दै आएको सुनाउनुभयो । उहाँले नगरपालिकाले बुझाएको माग पत्रका विषयमा आफूले सक्दो पहल गर्ने बताउनुभयो ।