क्षत्री समाज म्याग्दीको अध्यक्षमा बानियाँ

आदर्श सञ्चार, म्याग्दी
क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा कृष्णसिङ बानियाँ चयन हुनु भएको छ । छैटौं जिल्ला अधिवेशनबाट बानियाँ अध्यक्षमा चयन हुनुभएको हो । अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे, उपाध्यक्षमा सन्जु बरुवाल, महिला उपाध्यक्षमा कमला खत्री घर्ती क्षत्री, सचिवमा यामबहादुर बानियाँ, कोषाध्यक्षमा हिराबहादुर कटुवाल, सहसचिवमा सीता थापा कुँबर र सहकोषाध्यक्षमा पवित्रा बोगटी केसी चयन हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिता केसी, लक्ष्मी भण्डारी कार्की, सुन्दर केसी, घनश्याम खड्का, नरसिङबहादुर खत्री, दिनेश बानियाँ, विनोद घर्ती, डम्बरबहादुर पाण्डे, भेषबहादुर बानियाँ, विशाल खत्री, मिनबहादुर बानियाँ, दिपेन्द्र न्यौपाने क्षत्री, रुविना कार्की, निशा खत्री बानियाँ, रश्मी भण्डारी कुँबर र विष्णु पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक मोहन बानियाँले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष बानियाँले प्रतिबद्धता व्यक्त गर्दै सबैलाई समेटेर समग्र क्षेत्री बन्धुहरुको हकहिकतका लागि काम गर्ने बताउनुभयो । अधिवेशनको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले राज्यले क्षत्री समुदायलाई विभेद र अन्याय गर्नुका साथै पाखा लगाएर क्षत्रीहरुले उठाएका आवाजको सुनुवाइ नगरेको आरोप लगाउनुभयो ।

क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले २०७२ सालमा जारी नेपालको संविधानमा क्षत्रीलाई अन्य जातिको सूचीमा राखेर अधिकारबाट बञ्चित गराउने काम भएको बताउँदै आरक्षण जातीय आधारमा नभई वर्गीय आधारमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, क्षत्री महिला समाजका केन्द्रीय अध्यक्ष उर्मिला खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्