प्रेस युनियनको ३४ औं स्थापना दिवसमा फलफूल वितरण

आदर्श सञ्चार, बागलुङ
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । युनियन स्थापनाको दिवसको पूर्व सन्ध्यामा सोमबार प्रेस युनियन बागलुङ शाखाको आयोजनामा अस्पतालमा उपचाररत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो ।

सोमबार बिहान आयोजित कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्ती, केन्द्रीय सदस्य पदीप पन्त, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त सहितका पत्रकारले अस्पतालका बिरामीलाई फलफूल वितरण गरेका थिए । फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रदिप पन्तले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले काम गर्दै आएको बताए ।

‘पत्रकारको पेशागत सुरक्षा र हकहितका लागि प्रेस युनियन क्रियाशील छ,’उनले भने,‘पेशागत मर्यादा कायम गर्दै पत्रकारको व्यवसायिक सुरक्षा र अधिकारको क्षेत्रमा हाम्रो संगठनले काम गर्छ ।’ कार्यक्रममा बोल्दै धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले समाजलाई सत्मार्गमा डो¥याउने काममा पत्रकारिता जगतको मुख्य भूमिका हुने बताए । ‘समाजलाई सत्मार्गमा लैजानका लागि पत्रकारिता र पत्रकारको मुख्य भूमिका रहन्छ,’उनले भने,‘धौलागिरि अस्पतालका बिरामीको सुस्वास्थ्यको कामना गर्दै फलफूल वितरण कार्यक्रम गर्नुभएकोमा धन्यवाद ।

स्थापना दिवसको अवसरमा यहाँहरुलाई धेरै शुभकामना ।’ नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तले पत्रकारको हकहित र पेशागत अधिकार रक्षाका लागि सबै संघ संगठनसंग सहकार्य गरेर अगाडि बढ्ने बताईन् । ‘हामी विभिन्न र आस्था र विचारको आधारमा संगठित भए पनि मुख्य काम भनेको पत्रकारको पेशागत सुरक्षा र मर्यादा नै हाम्रो मूल धर्म हो,’उनले भनिन्,‘यसका लागि हामी सबैले हातेमालो गरेर अगाडि बढ्नेछौं ।’

स्थापना दिवसको अवसरमा युनियनले मंगलवार साँझ दिप प्रज्वलन गर्ने, बुधवार मैत्रीपूर्ण फुटसल लगायतको कार्यक्रम तय गरिसकेको अध्यक्ष संगम घर्तीमगरले जानकारी दिए । केन्द्रीय सर्कुलर अनुसारका कार्यक्रम तय गर्दै युनियनले अग्रज पत्रकार संवाद भन्ने कार्यक्रम पनि तय गरेको छ । त्यस बाहेकका नविनतम कार्यक्रम पनि सप्ताहमा जोड्ने बताइएको छ । जेठ १३ गते स्थापना दिवस भएकाले १२ गतेदेखि कार्यक्रम शुरु हुनेछन् ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता सचिव डम्मर बुढामगरको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अस्पतालमा उपचाररत ४० जना बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्