आईसिटी बुट क्याम्प एवम् जवफेयर सुरु

आदर्श सञ्चार, म्याग्दी
सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको सहयोग तथा समन्वयमा आईसिटी बुट क्याम्प तथा जवफेयर कार्यक्रम सुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा खेलकुद मन्त्राालयको आर्थिक व्यवस्थापनमा शुरु भएको उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सूचना र प्रविधिको क्षेत्रमा ध्यान दिएर काम गर्न सकेमा रोजगारीका अवसरहरु स्वदेशमै रहेकाले विदेशिनुनपर्ने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालहरुलाई सकारात्मक हिसाबले प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउँदै सकारात्मक सोंचको विकासका साथै सामाजिक सञ्जालको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नगर प्रमुख केसीले अहिले नर्सरीमा भर्ना भएर पढिरहेका बालबालिकाहरु टिकटक हेरेर हुर्किरहेको बताउँदै आईसिटीको प्रयोग बढ्दै जाँदा सुरक्षा चुनौती पनि बढेर गएकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मन्त्रालयमार्फत पाइलट प्रोजेक्टका रुपमा आएको आईसिटी बुट क्याम्प कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएर तालिमलाई भरपुर उपयोग गर्न सुझाव दिनुभयो । विदेशिने युवा विद्यार्थीलाई रोक्नको लागि पनि सरकारले आईसिटीका कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव तोयानाथ लम्सालले मन्त्रालयबाट नवीनतम सोंच तथा विद्यार्थीकेन्द्रीत कार्यक्रमको रुपमा आईसिटी बुट क्याम्प तथा जवफेयर कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले अहिलेको समय सूचना र प्रविधिको युग भएकाले अब पछाडि फर्कन नसकिने बताउँदै आईसिटी बुट क्याम्प गरिखाने कार्यक्रमको रुपमा रहेको समेत बताउनुभयो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले पछिल्लो समय सूचना र प्रविधिले फड्को मारिरहेको अवस्थामा विद्यार्थीलाई प्रविधियुक्त र समयसापेक्ष बनाउनको लागि आईसिटी सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

१० दिनसम्म चल्ने यस तालिमको आईसिटी र नेटवर्किङको क्षेत्रमा विज्ञता हासिल गर्नुभएका एक्सपर्टहरु सागर पौडेल, शिवशंकर साह, आनन्द पाठक र हरिहर पौडेलले सहजीकरण गरिरहनुभएको छ ।

यो पनि पढ्नुहोस्