आदर्श सञ्चार, म्याग्दी
म्याग्दीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–३ मुनास्थित निर्माणाधिन दरखोला जलविद्युत् आयोजनाको सडक खन्ने क्रममा पहिरो खस्दा डोजर चालक स्याङ्जाको चापाकोट नगरपालिका–८ का ३२ वर्षीयका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको हो ।
चालक कुमालको एक्साभेटरभित्रै च्यापिएको अवस्थामा शव फेला परेको र परीक्षणको लागि प्रदेश अस्पताल बेनी ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।
अचानक खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।