रामकृष्णको गजलसङ्ग्रह ‘अनायास’ आउँदै

आदर्श सञ्चार, बागलुङ

रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । गजल मञ्च चितवनले प्रकाशन गरेको यो कृति समालोचक, कवि तथा गजलकार रमेश प्रभातको सम्पादनमा कलात्मक रूपले पाठकसामु ल्याउन लागिएको हो ।

साहित्यमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय अनायासले यस गजलसङ्ग्रहमार्फत प्रेम, वियोग, देशप्रेम, सामाजिक चेतना र समसामयिक यथार्थका अनेक तहलाई गहिरो भावबोधका साथ प्रस्तुत गरेका छन् । उनका गजलहरू भाषिक सादगी, भावनात्मक घनत्व र समाजप्रतिको उत्तरदायित्वका दृष्टिले उल्लेखनीय छन् ।

पुस्तकको आवरणले ग्रामीण सौन्दर्य, सांस्कृतिक संवेदना र स्त्रीपात्रको बिम्बमार्फत पाठकमा गहिरो प्रभाव पार्ने उद्देश्य बोकेको छ । गजल मञ्च चितवनका पूर्वअध्यक्ष तथा सल्लाहकार रमेश प्रभातको सम्पादनले कृतिको साहित्यिक गाम्भीर्यलाई अझ सुदृढ बनाएको छ । गजल मञ्च चितवनद्वारा प्रकाशित यो कृति सम्पूर्ण किताब, नारायणगढमार्फत देशव्यापी रूपमा वितरण गरिने छ । पुस्तकको मूल्य रु. २५१ तोकिएको छ ।

गजल मञ्च चितवनका पूर्वअध्यक्ष लेखराम सापकोटाका अनुसार रामकृष्ण अनायासले गजल लेखनमा भाषिक प्रयोग र विषयगत विविधता दुबैमा सशक्त उपस्थिति जनाएका छन् । यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले अनायास नेपाली गजल साहित्यमा थप सशक्त हस्ताक्षर बन्ने दिशातर्फ अघि बढिरहनुभएको धारणा राखेका छन् । अनायास हाल गजल मञ्च चितवनका अध्यक्ष रहेका छन् । यस सङ्ग्रहमार्फत गजलमा रम्ने पाठकहरूले समकालीन नेपाली गजलको गहिरो स्वाद लिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्