आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका–८ सिगानाका ७० वर्षीय याम बहादुर खड्कालाई मोतिया बिन्दुको समस्या थियो । दाइने आँखा नदेख्ने खड्काले देब्रे आँखाको भरमा हिड्डुल गर्न समस्या थियो । मोतिया बिन्दुको समस्याबाट पीडित खड्कालाई धौलागिरी प्रादेशिक अस्पतालको मोतियाबन्दिुको शिविर बरदान जस्तै भयो । उहाँको आँखाको ज्योती पुरानै अवस्थामा फर्केपर्छी खुसी खुदै घर तर्फ लाग्नुभयो ।
“दाइने आँखा देख्दैनथे, देब्रे आँखाको भरमा हिड्दा समस्या थियो, निःशुल्क शिविरले खर्च समेत बचत भयो, अहिले दुबै आँखा देख्ने भए” खड्काले भन्नुभयो “मोतिया बिन्दुको शल्यक्रिया पश्चात पुरानै अवस्थामा आँखाको ज्योती फर्केको छ, आफ्नै अस्पतालमा शल्यक्रिया गर्दा समय र खर्च दुबै बचत भएको छ ।”
उहाँले आँखा देख्न सक्ने भएपछि चिकित्सकलाई धन्यवाद समेत दिनुभयो । अस्पतालले तीन दिने आँखाको शल्यक्रिया शिविर मार्फत खड्का जस्ता मोतिया बिन्दुको ५४ जनालाई पुरानै अवस्थामा फर्काउन सफल भएको छ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङले पहिलोपटक गण्डकी प्रदेश सरकारको सहयोगमा मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो ।
आइतबारदेखि थालिएको शल्यक्रिया मंगलबार बिहान सम्म सञ्चालन गरिएको थियो । शिविरमा ८० जनाको शल्यक्रिया गर्ने तयारी थालेपनि विरामीको स्वास्थ्य समस्याका कारण ५४ जनाको मात्रै शल्यक्रिया सम्पन्न गरिएको धौलागिरी प्रादेशिक अस्पताल बागलुङका आँखा रोग चिकित्सक डा. सुहान श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालले गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोग, नेपाल नेत्रज्योती संघ, धौलागिरि आँखा अस्पताल र पोखरास्थित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । शिविरमा पर्वत, म्याग्दी र बागलुङका ५४ जनाको शल्यक्रिया गरिएको हो ।
मुस्ताङमा समेत शिविर सञ्चालन गरेर पाँच जना सिफरिस गरेपनि उहाँहरु शल्यक्रिर्यामा नआएको अस्पतालले जनाएको छ । शिविरमा आँखा रोग बिशेषज्ञ डा. नारायणी भट्टराई रोकाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो ।