रेशका महिलालाई पालिका अध्यक्षको आव्हान : ‘ढुक्क भएर उत्पादन गर्नुस, बजारीकरण पालिकाले गर्छ’

आदर्श सञ्चार, बागलुङ

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले कृषकहरुलाई बजारीकरणको चिन्ता नगरी ढुक्क भएर उत्पादन गर्न आव्हान गर्नु भएको छ । तपाईहरु ढुक्क भएर उत्पादन गर्नुस, अहिलेको भन्दा बढी उत्पादन गर्नेतर्फ लाग्नुस, संकलन र बजारीकरणको व्यवस्था पालिकाले मिलाउछ, अध्यक्ष थापाको भनाइ छ ।

हेफर प्रोजेक्ट नेपाल र काठेखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र बिवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत मंगलवार काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा आयोजित बाख्रा उपहार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ढुक्क भएर उत्पादन बढाउन आव्हान गर्नु भएको हो ।

गाउँपालिकाले अक्षेते बजारमा संकलन केन्द्र तयार गर्दैछ, निर्माण कार्य शुरु भइसकेको छ, अब आगामी आर्थिक वर्षदेखि संकलन र बजारीकरण शुरु हुन्छ, अध्यक्ष थापाले भन्नुभयो,–‘तपाईहरु अहिले देखि नै उत्पादन बढाउने योजनामा लाग्नुस ।’ कृषकले उत्पादन गर्ने, सहकारीहरुले संकलन गर्ने र पालिकाले संकलन केन्द्रमार्फत बजारीकरण गर्ने गरी अगाडि बढेको जानकारी गराउदै पालिका अध्यक्ष थापाले भन्नुभयो,– ‘आगामी आर्थिक वर्षदेखि काठेखोला गाउँपालिकाका कृषकले उत्पादन गरेको कुनै पनि वस्तु खेर जान दिदैनौ ।’

कार्यक्रममा हेफर इन्टरनेशल नेपाल भरतपुर कलस्टरका कार्यक्रम व्यवस्थापक कृष्ण बाबु कट्टेलले महिला समूहले बाख्रापालन र कृषिको क्षेत्रमा गरेका गतिविधिलाई बढाउन र आत्मनिर्भरताका लागि हेफरले सञ्चालन गरेका कार्यक्रमले महिला सशक्तिकरणको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनभयो । महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन हेफर सधैं हातेमालो गर्न तयार रहेको बताउँदै कट्टेलले ग्रामिण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिनु पर्नेमा जोड दिनुभयो ।

बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले बाख्रा उपहार कार्यक्रम हेर्दा सानो देखिए पनि यसको सन्देश सकारात्मक र सहकार्यमा आधारित भएको चर्चा गर्दै महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउनुका साथै सामाजिक क्षेत्रमा क्रियाशिल बनाउन सहयोग गरेको बताउनु भयो । कार्यक्रममा काठेखोला गाउँपालिका वडा नंं ७ का वडा सदस्य शारदा थापा, धौलागिरी जागरण दैनिकका सम्पादक राम बहादुर जिसी, गैससकर्मी निर बहादुर विक, काठेखोला गाउँपालिका न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कंडेल, नेकपा एमाले रेशका अध्यक्ष रामचन्द्र गौतम लगायतले हेफरले सञ्चालन गरेका कार्यक्रममार्फत महिलाहरुमा आएका सकारात्मक विषयहरुको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा गठित मूल महिला समूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेका थिए । संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहमा आवद्व सदस्यहरुले संघर्षशिल, सयपत्री, सुसेली, लगनशिल, सुर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आवद्व सदस्यलाई बाख्रा उपहार प्रदान गरेका हुन् । मुल समूहका सदस्यहरुले उपहार समूहलाई ५० ओटा बाख्रा प्रदान गरेका थिए ।

परियोजना अन्तर्गत गठित मुल समुहहरु संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहलाई वितरण गरिएका बाख्राबाट उत्पादन भएका पाठापाठी उपहार समूहमा आवद्व सदस्यहरुलाई वितरण गरिएको कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रमका संयोजक चुडामणि उपाध्यायले जानकारी दिनुभयो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष राजु थापा, हेफर इन्टरनेशनल नेपालका विवेक कुमार शाह, रञ्जित चौधरी, ऋषिराम पौडेल, कृष्णबाबु कट्टेल, बिवाईसी बागलुङका अध्यक्ष तोयनाथ गौतम, धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसी र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

रेश साना किसान कृषि सहकारी संस्था लिमिटेड र मुल समुहहरु संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वावलम्बीको आयोजनामा भएको कार्यक्रम शुभलक्ष्मी महिला समूहका अध्यक्ष देवी जिसीको अध्यक्षता, धनमाया थापाको स्वागत र रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उजेली शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्