आदर्श सञ्चार, बागलुङ
दोस्रो संस्करणको एसईई स्तरीय आदर्श कप पुरुष तथा महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबले बुधबार पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो । आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र के.सी., जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नवराज परियार, बागलुङ स्पोर्टस क्लबका प्रकाश शर्माले ट्रफी सार्वजनिक गर्नुभयो ।
ट्रफी अनावरण कार्यक्रममा बोल्दै प्रतियोगिताका सहआयोजक समेत रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र के.सी.ले विद्यालय तलका विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नवराज परियारले फुटबल विकासमा निजी विद्यालय र क्लबहरुले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।
प्रतियोगितामा छात्र तर्फ बागलुङ जिल्लाका १४ विद्यालयका १६ टिम र छात्रा तर्फ ७ विद्यालयले सहभागिता जनाउने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो । बिहिबारदेखि जेठ २१ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।
प्रतियोगिताको पुरुषतर्फ विजेताले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले ३७ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै महिलातर्फको विजेता टोलीले नगद ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केसीले बतानुभयो ।
यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडि, मिडफिल्डर, उच्च गोलकर्ता, गोलरक्षक, र उत्कृष्ट फरवार्डसंगै अनुशासित टोलीलाई नगदसहित पुरस्ककृत गरिनेछ । प्रतियोगिता संचालनको लागि सात लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा शिषक युनिस मियाँले स्वागत र शिक्षक कमल रेग्मीले संचालन गर्नुभएको थियो । प्रथम आदर्श कप छात्र फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको थियो ।