छन्त्यालको उपचारको लागि आर्थिक सहयोग

आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका – १, रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले म्याग्दीको बेनी नगरपालिका ३ डाडाखानी घरभै बागलुङ बस्ने देव बहादुर छन्त्यालको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । विद्यालयले आफ्नै विद्यार्थी सलिना छन्त्याल र सजिना छन्त्यालका बुबाको उपचारका लागि १ लाख २६ हजार ७ सय ५ रुपैयाँ सहयोग गरेको हाे ।

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले छन्त्यालका श्रीमति सुशिला छन्त्याल र छोरी सलिना छन्त्याललाई हस्तान्तरण गर्नु भएको थियो। उक्त रकम विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुबाट संकलन गरिएको विद्यालयका सूचना अधिकारी रोहन जि.सीले जानकारी दिनुभयो ।

४६ वर्षीय छन्त्याल लामो समयदेखि मधुमेह (सुगर) रोगबाट पीडित हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था झन जटिल बन्दै गएर, खुट्टामा सानो घाउ देखिन थाल्यो, जुन क्रमश बढ्दै गएर खुट्टा नै काट्नुपर्ने अवस्था आएको छ। यसका साथै, अहिले उहाँको मिर्गौलामा (पानी जम्ने समस्या) पनि गम्भीर समस्या देखा परेको छ । घर परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपाचारमा समस्या भएको श्रीमती सुशिला छन्त्यालले बताउनुभयो ।

छन्त्यालका दुई छोरी मध्य जेठी छोरीले सोही स्कुलबाट एसईई परिक्षा दिएकी छन् भने कान्छी छोरी कक्षा ८ मा अध्ययनरत छन् । चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना कालदेखि मानविय र सामाजिक क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्