पर्वतको पैयूमा सहकारी अभिमुखीकरण गोष्ठी

आदर्श सञ्चार, बागलुङ
पर्वतको पैयू गाउँपालिकामा एक दिने सहकारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, पोखराको आयोजनामा सम्पन्न गोष्ठीमा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा छलफल भएको थियो । पैंयूँ गाउँपालिका र जिल्ला सहकारी संघ लिमिटेड पर्वतको समन्वयमा भएको गोष्ठीमा सहकारीका सवल पक्षहरुको प्रवद्र्धन र कमी कमजोरी सुधारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्घाटन पैयू गाउँपालिकाका अध्यक्ष तोरण बहादुर मल्ल ठकुरीले गर्नु भएको थियो । उद्घाटन पछि बोल्दै अध्यक्ष ठकुरीले प्रचलित सहकारी सम्बन्धी नियम कानुन र संस्थाको विनियम बमोजिम सहकारी संस्था सञ्चालन गर्नका लागि सरोकारवालाको सक्रिय र समन्वयकारी भूमिकामा जोड दिनुभयो ।
पैयूँ गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले नियमनकारी निकायहरूका बीचमा समन्वय र सहकार्य हुनुपर्ने भन्दै सहकारी क्षेत्रको उत्थान र उन्नयनका लागि सामुहिक सहयोग र सक्रियता आवश्यक रहेको बताउनुभयो ।

जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले प्रचलित सहकारीका ऐन कानुन र कार्यविधि बमोजिम सहकारीका गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारी रजिष्ट्रारको कार्यालय, पोखराका रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको गोष्ठीमा पर्वत जिल्लाका पैयूँ गाउँपालिका, बिहादी गाउँपालिका र महाशीला गाउँपालिकाका विभिन्न सहकारी संस्थाका ८० जना सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।

रजिष्ट्रार रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल र पैयूँ गाउँपालिकाका सहकारी शाखा प्रमुख युवराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन एवं सहजीकरण तुलसीप्रसाद पौडेलले गर्नु भएको थियो । गोष्ठीमा सहकारी सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८१, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट हालै जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड लगायतका विषयमा कार्यपत्र प्रस्तुतीकरण भएका थिए ।

सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकार अन्तर्गत हाल ९०८ वटा सहकारी संघ संस्था कायम रहेकोमा हालसम्म ५६४ सहकारी संघ संस्था कार्यालयमा अद्यावधिक रहेका छन् । कार्यालयले निष्क्रिय सहकारी खोजी कार्यलाई प्राथमिकतामा राखी सहकारीको अनुगमन, नियमन, प्रवद्र्धन तथा प्रशिक्षण कार्य समेत सञ्चालन गरिरहेको छ । कार्यालयले गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानमा १४ वटा तालिम र १८ वटा अन्तक्र्रिया अभिमुखीकरण गोष्ठी सम्पन्न गरिसकेको कार्यालयका प्रवक्ता ईश्वरी ढकालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्