आदर्श सञ्चार, बागलुङ
बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छ जना सडक मानवको उद्धार गरिएको छ । बागलुङ बजारको विभिन्न स्थानमा बसेर सहयोग माग्दै बसेका सहयोगापेक्षी छ व्यक्तिहरूकाृ उद्दार गरी मानव सेवा आश्रम बागलुङमा राखिएको छ ।
सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा–पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिका समेत उनिहरु सम्लग्नता रहेको थियो । उनिहरुलाई पटक–पटक उद्दारको प्रयास गरेपनि हालै आएर सफल भएको मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक विपना तामाङले जानकारी दिनुभयो ।
उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका रहेको तामाङले जानकारी दिनुभयो ।
तीमध्ये पाँच जना पुरुष र एक जना महिला छन् । मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा उद्दार गरिएको हो । उनिहरुमध्ये तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखरा पठाइएको छ ।
तीन दिन अघिमात्रै थप एक जनालाई उद्धार गरी पोखरा पठाइएको थियो । मानव सेवा आश्रमका अनुसार उद्धार गरिएका व्यक्तिहरूका घरपरिवार भए तापनि उनीहरू सबैजना परिवारसँग नबसी सडकमा जाँडरक्सी सेवन गर्दै माग्ने कार्यमा संलग्न थिए । उनिहरुलाई मनोपरामर्श, औषधी उपचार पछि पुर्नमिलनको प्रयास गरिनेछ ।
मानव सेवा आश्रमले मानवता प्रवद्र्धन महाअभियान २०८२ अन्तर्गत सडक मानव उद्धारलाई निरन्तरता दिइरहेको छ ।